Comments Add Comment

फेरि बन्द भयो मेघौली विमानस्थल

११ भदौ, चितवन । अघिल्लो वर्ष कात्तिकबाट सञ्चालनमा आएको मेघौली विमानस्थल फेरि बन्द भएको छ ।

गत वर्ष कात्तिक २१ गते तारा एयरको १८ सिटे चार्टर विमान अवतरण गरेपछि विमानस्थल संचालन भएको थियो । मंसिर १३ गतेबाट नेपाल वायु सेवा निगमले नियमित उडान थाल्यो ।

यो खुसी २ महिना पनि टिकेन । निगमले हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्दै आएको थियो । तर, विमानले क्षमताभन्दा कम यात्रु लिएर उडिरहेको थियो ।

माघको अन्तिम हप्ताबाट मेघौली विमानस्थल बन्द रहेको नागरिक उड्डयन कार्यालय भरतपुरका निमित्त प्रमुख दीपक विकले बताए । टर्मिनल भवन र आवश्यक भौतिक पूर्वाधार निर्माण भए पनि उडान नभएकाले कर्मचारी पनि छैनन् । उनले भने, ‘फेरि उडान भए कर्मचारी त्यहाँ पुग्छन् ।’

भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले मेघौलीका व्यवसायीहरु कमिसनको चक्करमा लागेर नियमित उडानलाई चासो नदिँदा एयरपोर्ट बन्द भएको आरोप लगाउँछन् ।

पर्यटक र यात्रुहरु भरतपुर पठाउँदा एयरलाइन्सले कमिसन दिने भएकाले मेघौलीमा यात्रु नपुगेको देखिएको उनको दावी छ । भरतपुर विमानस्थलको विकल्पमा मेघौली विमानस्थल सञ्चालनमा ल्याउन आफूले महानगरमा कुरा राखेको उनले भनाइ छ ।

मेघौली क्षेत्रका प्रदेश सांसद कृष्ण भुर्तेलले विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको बताए ।

मेघौलीमा विमान आउने अघिल्लो दिन र आउने दिन गरी २ दिनका लागि भरतपुर विमानस्थलबाट एक जना कर्मचारी जाने गरेका थिए । भीएचएफ कम्युनिकेशनको सेट लिएर जाने र लिएर आउने गरिएको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment