Comments Add Comment

मदन पुरस्कार विजेता कार्कीले भनिन् – मेरो मिहिनेत सफल भयो

११ भदौ, काठमाडौं । २०७४ सालको मदन पुरस्कार निलम कार्की ‘निहारिका’ को कृति ‘योगमाया’ लाई दिने निर्णय गरिएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । योगमाया आजभन्दा सय बर्षअघि पूर्वी नेपालमा भएको महिला शिक्षा र अधिकारको आन्दोलनकी नेतृको रुपमा रुपमा प्रसिद्ध थिइन् ।

आफ्ना माग सुनुवाई गर्न उनले आफ्ना समर्थकसहित अरुण नदीको उर्लदो भेलमा हाम फालेर मृत्युवरण गरेकी थिइन् । ‘योगमाया’ उपन्यासमा उनको जन्मदेखि अरुणको भेलमा हामफालेसम्मको कथा समेटिएको छ ।

योगमायामाथि धेरै अनुसन्धान भए पनि आख्यानकार कार्कीले पहिलो पटक उपन्यासमा ढालेकी हुन् । यसका लागि उनले केही महिना पूर्वी पहाडको भ्रमण गरी एउटा वृत्तचित्र पनि तयार पारेकी थिइन् ।

उपन्यासमा अमेरिकी पत्रकार तथा सामाजिक अनुसन्धानकर्ता बर्बराको अनुसन्धानमा आधारित रहेर उपन्यास तयार पारेका कारण यो उपन्यासको बढी विश्वसनीय बनेको थियो । ‘योगमाया’ सहित मदन पुरस्कारको प्रतिस्पर्धामा सरस्वती प्रतीक्षाको ‘नथिया’, ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ यज्ञशको ‘भुइयाँ’ तीर्थ गुरुङ्को ‘पाठशाला’ नयनराज पाण्डेको ‘यार’, राज माङलाकको ‘लिम्बुनी गाउँ’ र मोहन बैद्य ‘किरण’ को ‘हिमाली’ गाउँ’ सर्ट लिस्टमा परेका थिए ।

कार्कीले दुई वर्षअघि ‘चीरहरण’ उपन्यासका लागि दुई लाख रुपैयाँको पद्मश्री पुरस्कार पनि प्राप्त गरेकी थिइन् । नेपाली साहित्यमा पद्मश्री मदन पुरस्कारपछि अर्को महत्वपूर्ण पुरस्कार मानिन्छ ।

२०६२ सालमा प्रकाशित हवन कथा संग्रह प्रकाशन गरेकी निलम कार्कीका अर्की आइमाई पनि चर्चित कृति हो । २०३१ सालमा जन्मिएकी निहारिकाले ‘मातृत्वका यी दुई रुप’ दीपशिखा पत्रिकामा प्रकाशन गरेर साहित्यिक यात्रा सुरु गरेकी हुन् । विवाह गरेर अमेरिका प्रस्थान गर्नुअघि उनी सञ्चारकर्मी र साहित्य दुबैमा समान रुपले काम गर्थिन् ।

निलम कार्की निहारिका मदन पुरस्कारको सर्ट लिस्ट निस्किएपछि नेपाल आएकी थिइन् । दुई महिनाको नेपाल बसाइपछि ५ दिनअघि मात्र अमेरिका फर्केकी थिइन् । उनी १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आइरहेकी छन् । मदन पुरस्कारको घोषणा हुँदा मध्य निद्रामा रहेकी निहारिकासँग अनलाइनखबरले सामान्य कुराकानी गरेको थियो ।

मदन पुरस्कारको घोषणा भएको कतिखेर थाहा पाउनुभयो ?

म सुतिरहेकी थिएँ । श्रीमानले पढेपछि मलाई उठाउनुभयो । त्यसपछि थाहा पाएँ ।

कस्तो लागिरहेको छ ?

निकै खुसी लागेको छ ।

के भन्न मन लागेको छ ?

खुसी छु । अनुसन्धानमूलक कृतिलाई पुरस्कृत गर्दा मेरो मिहिनेत सफल भयो भन्ने ठानेकी छु ।

अरु केही ?

अहिले केही नभनौं । खुशीबाहेक अरु शब्द नै छैनन् । सबै शुभ चिन्तक र पाठकलाई धन्यावाद दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment