Comments Add Comment

भिन्सियस जुनियर, जसलार्इ मड्रिडले नयाँ स्टारका रुपमा चिनाउँदैछ

१२ भदौ, काठमाडौं । भिन्सियस जुनियर-उनको पुरा नाम भिन्सियस जोस पाइजो डि ओलिभिरा जुनियर हो । अब यो स्पेनिस क्लब रियल मड्रिडमा सम्झनुपर्ने नाम हो । किनकी मड्रिडले भिन्सियसलाई विश्व फुटबलमा नयाँ स्टारका रुपमा चिनाउँदैछ ।

सान्टिएगो बेर्नाबाउका प्रशिक्षक जुलेन लोपेटेगीले ला लिगाको पहिलो दुई खेलमा भिन्सियसलार्इ खेलाएका छैनन् । तर, ला लिगामा मात्र होइन, च्याम्पियन्स लिगमा पनि सर्वाधिक सफल क्लबमा आवद्ध भएसँगै भर्खर १८ वर्षका भिन्सियसलार्इ ब्राजिलियन स्टार नेइमारका प्रतिस्पर्धीका रुपमा हेर्न थालिएको छ ।

भिन्सियसले पनि ब्राजिलका अरु स्टार खेलाडी जस्तै फुटसलबाट आफ्नो खेल यात्रा सुरु गरेका हुन् । ब्राजिलियन क्लब फ्लामेन्गोको युथ टिमबाट फुटबल खेले । पहिलो पटक क्लबमा छनोट हुन नसकेका उनी एक वर्षपछि पुनः छनोट भएका थिए । ब्राजिलको यू-१५ र यू-१७ को टिमबाट खेलेर उनले फ्लामेन्गोमा आफू हुनुपर्ने कारण प्रमाणित गरेका थिए । त्यसपछि उनी क्लबका प्रमुख खेलाडीका रुपमा उदाए ।

फ्लामेन्गोमा ३० मिलियन डलर बाइआउट क्लजमा रहेका भिन्सियस पहिलो खेलपछि नै ४५ मिलियन बाइआउट क्लजमा पुगेका थिए । त्यसले उनको खेल शैली र आवश्यकता थप प्रमाणित गरेको थियो । त्यसपछि नै उनलाई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले किन्न चाहेका खबर फैलियो । नभन्दै उनी १८ वर्ष पुग्ने वित्तिकै रियल मड्रिडले ४५ मिलियन डलरमा ल्याइहाल्यो ।

मड्रिडमा आउनुलार्इ उनको राष्ट्रिय टिमको बाटोको रुपमा पनि हेरिएको छ । ब्राजिलको २० वर्षमुनिको टोलीमा पनि स्थान नबनाएका उनले मड्रिडमा आफ्नो खेल देखाउने हो भने उनका लागि अवसरहरु धेरै बढ्ने छन् ।

नयाँ सिजन सुरु हुनुअघि भएको मैत्रीपूर्ण खेलमा मड्रिडबाट अवसर पाएका भिन्सियसले आफ्नो कलाले धेरैलाई चकित पारेका थिए ।उनको छिटोछिटो बल छुने र बढाउने साथै क्रस पास फाल्ने शैली अदभुत देखिन्छ । उनी फुटबलबाटै दर्शकलाई रोमाञ्चित बनाउन सक्छन् ।

आफूअघि बलियो डिफेन्स लाइन रहँदा पनि बल छक्काएर अघि बढ्न सक्षम हुन्छन् । पास आएको बल लिने उनको शैली पनि अरु खेलाडीको भन्दा भिन्न देखिन्छ । विपक्षीतर्फ नै फर्किएर पनि उनी पास बल रिसिभ गर्न सक्छन् । त्यसमा उनको शैली एलेक्स सान्चेजसँग कताकति मिलेको जस्तो लाग्छ ।

वन भर्सेस वनको अवस्थामा पनि उनी आफ्नो फरकफरक कलाले बल प्रहार गर्न सक्छन् । यसैले उनले के गर्छन् भन्ने अनुमान लगाउन विपक्षीका लागि सहज हुँदैन ।उनी अट्याकिङका बेला एकै शैली पनि अपनाउँदैनन् । खुला ठाउँबाट बल बढाउने हुँदा केही क्षेत्र भने सीमित देखिन्छन् । रियल मड्रिडमा उनले त्यसमा सुधार गर्ने हो भने बलियो मिडफिल्डको साथले उनी झनै राम्रा हुने छन् ।

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस गएपछि रियल मड्रिडमा झण्डै दशकपछि लेफ्ट साइड अट्याकको लागि ठाउँ खुलेको छ । भिन्सियसका लागि पनि त्यही स्थान विशेष उपयोगी देखिन्छ । प्रशिक्षक लोपेटेगीले पनि भिन्सियसलाई सहज लाग्ने ४-३-३ कै शैली अपनाउने देखिन्छ । यदि यही शैली अपनाउने हो भने लेफ्ट विङमा भिन्सियस बराबर अर्को खेलाडी हुने छैन ।

इस्को, टोनी क्रुस, लुका मोडरिक र क्यासेमिरो सबै सुरुवाती ११ मा रहने पक्का जस्तै हुँदा भिन्सियसले ग्यारथ बेल र करिम बेन्जेमासँग नै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

मोडरिकले नयाँ क्लब रोज्ने हल्ला चलिरहँदा लोपेटेगी पनि ४-२-३-१ को शैलीलाई विचार गरिरहेका हुनसक्छन् । जसमा इस्को सेन्टर रोलमा जाने देखिन्छ । किनकि प्रशिक्षक लोपेटेगीको विश्वास इस्कोमाथि निकै छ । त्यसमा बेल राइट र बेन्जेमा मेन स्ट्राइकर हुन सक्छन् । यस्तोमा भिन्सियसले मार्को एसेन्सियो र लुकास भासक्वेजसँग लेफ्टका लागि प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।

यही कठिनाइले उनी रियल मड्रिडको ‘बी’ टिममा देखिएका छन् । आइतबार मड्रिडको ‘बी’ टिमले लस पालमसलाई २-० ले हराउँदा भिन्सियस सुरुवाती ११ मा थिए । यसले पहिलो रोजाइँको टिममा भिन्सियस नराखिएकोप्रति प्रशिक्षक लोपेटेगीलाई समर्थक र घरेलु मिडियाले पनि बारम्बार प्रश्न गरिरहेका छन् । तर, बेन्जेमाको दुई र बेलको एक गोलको मद्धतमा जिरोनामाथि जित निकालेर लोपेटेगीले जवाफ दिएका छन् ।

भिन्सियसले केही समय सुरुवाती ११ मा नै मौका नपाए पनि बर्नाबेउमा मिल्ने हरेक समय उपयोग गर्नुपर्छ । यसैले मड्रिडमा उनका लागि अवसर जस्तै अग्लो चुनौती पनि छ । आउँदो समयले नै उनी आफ्नो स्थानका लागि नै संघर्ष गरिरहन्छन् या नयाँ स्टारका रुपमा देखा पर्छन् भन्ने देखाउने छ ।

यसमा भिन्सियस विश्वस्त पनि छन् । ‘म अझै राम्रो हुँदै गइरहेको छु ।हरेक दिन सुधार गर्दै गइरहेको छु । आत्मविश्वास अझै बढेको छ’ मड्रिड टीभीसँग उनले भनेका छन्, ‘म फिजिकल र ट्याकटिकल रुपमा राम्रो भएको छु जस्तो लाग्छ । प्रशिक्षक लोपेटेगीले भनेका सबै कुरा बुझिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment