Comments Add Comment

कञ्चनपुर पुगेर फर्किएका कांग्रेस नेता भन्छन्- थाम्नै नसक्ने आन्दोलन हुन सक्छ

१३ भदौ, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या र स्थानीयले गरेको आन्दोलनबारे बुझ्न कञ्चनपुर पुगेका कांग्रेसका दुई नेता काठमाडौं फर्किएका छन् ।

घटनास्थलबारे अनुसन्धान गरेर फर्केका कांग्रेसले नेताद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरको निष्कर्ष छ- ‘पन्त हत्याका अभिव्यक्त दिलिप विष्ट हुन् भनेर स्थानीयवासी स्वीकार्न तयार छैनन् । यदि फेरि भरपर्दो अनुसन्धान भएन भने थाम्नै नसक्ने आन्दोलन हुन सक्छ ।’

नेताद्वयले क-कसलाई भेटे ?

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाटै दुई नेतालाई कञ्चनपुर पठाउने निर्णय गरेको थियो । त्यसअनुसार बडू र बलायर १० भदौमा कञ्चनपुर पुगे । सुरुमा उनीहरुले कांग्रेसका नेता कार्यकर्ताहरुलाई भेटे ।

त्यसपछि नागरिक समाजका अगुवा, महिला मानवअधिकारकर्मीसँग छलफल गरे । निर्मला पन्तका परिवारलाई भेटे । साथै आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएकी सन्नी खुनाका परिवारलाई पनि भेटे । घाइते र उनीहरुका आफन्तलाई भेटे ।

कांग्रेसको टोलीले स्थानीय प्रशासन र प्रहरी नेतृत्वलाई संयुक्तरुपमा भेटेर छलफल गर्‍यो । तर, पन्त हत्याबारे अनुसन्धान गरिरहेको टोलीलाई भने नभेटेको कांग्रेस नेता बडूले अनलाइनखबरलाई बताए । ‘किनभने अनावश्यक दबाव र प्रभावमा पारियो भन्न सक्छन्’ उनले भने ।

‘अर्को आन्दोलन हुन सक्छ’

कांग्रेस नेता बडूका अनुसार कञ्चनपुरको आन्दोलन स्वस्फूर्त भएको हो, राजनीतिक आन्दोलन होइन । उनले भने, ‘जघन्य अपराधका वास्तविक अपराधीलाई कारबाही गर्नुपर्छ भनेर भएको आन्दोलन हो । प्रहरीले सार्वजनिक गरेका दिलिप विष्टलाई अभियुक्त हुन् भनेर स्वीकार गरेका छैनन् । यसमा सबैको एक स्वर, एक मत पायौं ।’

मानसिक अवस्था कमजोर भएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दा आन्दोलन झन चर्किएको र प्रहरीको गोलीबाट एकजना मारिएको नेताहरुले बताए । तर, सरकारले स्थानीय प्रहरी र प्रशासन प्रमुखहरुलाई फिर्ता बोलाएर नयाँ टिम गएपछि अहिले आन्दोलन स्थगित भएको पाइएको बडूले बताए ।

बडूले भने, हामीले नयाँ टिमलाई भनेका छौं, वास्तविक दोषी पत्ता लगाउन सहयोग गर्नुस् ।’

आन्दोलनरत पक्ष र नागरिक समाजले पनि नयाँ टिम र छानविन समिति आएपछि सही ढंगले अनुसन्धान हुन्छ र वास्तविक दोषी पत्ता लाग्छ भन्ने विश्वास गरेको पाइएको कांग्रेस नेताहरु बताउँछन् । बडू भन्छन्- ‘अहिले कुनै किसिमको उद्दण्डता नआओस् र संयमता अपनाउनुस् भनेर हाम्रा साथीहरुलाई सुझाव दिएका छौं ।’

आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको पाइएको भन्दै कांग्रेस नेताहरुले पन्त हत्याका अभियुक्त विष्ट होइनन् भन्ने स्थानीयको बुझाइलाई सम्मान गर्न र समयमै वास्तविक अपराधी पत्ता लगाउन आग्रह गरेका छन् ।

‘यदि भरपर्दो अनुसन्धान भएन भने फेरि आन्दोलन हुँदा रोक्न सक्ने अवस्था हुँदैन भन्ने देखेका छौं’ बडूले अनलाइनखअबरसँग भने, ‘यही कुरा सरकार र पार्टीलाई भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment