Comments Add Comment

जनसंख्याभन्दा ३४ प्रतिशत बढी टेलिफोन प्रयोगकर्ता !

१४ भदौ,काठमाडौं । नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन् । यसमध्ये कति मोबाइल प्रयोगकर्ता एक्टिभ छन् भन्ने रेकर्ड छैन ।

गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ । २० लाख ६२ हजारभन्दा बढी सीडीएम प्रविधिका प्रयोगकर्ता छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म मोबाइलसहित सबै खालका टेलिफोन सेवा सस्क्राइबरको संख्या ३ करोड ९२ लाखभन्दा बढी छ ।

मुख्य प्रतिस्पर्धा नेपाल टेलिकम र एनसेलबीच नै छ । नेपाल टेलिकमका सबै किसिमका टेलिफोनका प्रगोगकर्ता १ करोड ९९ लाख ८० हजार छन् । एनसेलले १ करोड ६५ लाख सेवाग्राही रहेको दावी गरेको छ ।

एउटै व्यक्तिले दोहोरो सिम/रिम र फिक्स्ड टेलिफोन सेवा प्रयोग गर्दा पनि फरक-फरक गणनामा हुँदा टेलिफोन सेवाग्राहीको संख्या नेपालको कुल जनसंख्याभन्दा झण्डै ३४ प्रतिशत बढी देखिएको छ । तर, वास्तविकता भने त्यस्तो छैन ।

अझै धेरै विकट स्थानमा मोबाइलसहितको टेलिफोन सेवाको पहुँच पुगेको छैन । तर, एकै व्यक्तिलाई फरक-फरक कम्पनीको सेवा प्रयोग गरिरहँदा दोहोरो/तेहोरो रुपमा गणना हुँदा तथ्यांक विश्वसनीय देखिन्न ।

हाल नेपाल टेलिकमको फिक्स्ड टेलिफोन अन्तरगत पीएसटीएन प्रयोगकर्ता ६ लाख ८६ हजार छ भने वायरलेसका प्रयोगकर्ता १ लाख २० हजार छन् ।

गत असारसम्मको एमआईएस रिपोर्टका अनुसार मोबाइलमा जीएसएमतर्फ टेलिकमले १ करोड ७५ लाख सिम वितरण गरेको देखिन्छ भने टेलिकमको सीडीएमएका प्रयोगकर्ता १५ लाख ८६ हजार छन् ।

यूटीएलले ५ लाख २६ हजारलाई सेवा दिइरहेको छ । स्याटेलाइट टेलिमकको हेल्लो नेपालका प्रयोगकर्ता ३ लाख २८ हजार छन् भने स्मार्टका १८ लाख ५१ हजार ।

नेपालमा मोबाइल सेवाका प्रयोगकर्ता सस्क्राइबरको संख्या जनसंख्या भन्दा ३० प्रतिशत बढी भइसकेको छ । प्रत्येक कम्पनीका सेवा सस्क्राइबर गर्नेलाई एउटा व्यक्तिमा गणना गर्दा तथ्यांकको दोहोरोपनाका कारण यस्तो देखिएको  दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

फिक्स्ड टेलिफोन प्रयोग गर्नेको संख्या ३ प्रतिशतको हाराहारीमा छ । तथ्यांकमा यस्तो देखिने भएपनि कुन कम्पनीका सक्रिय प्रयोगकर्ता कति छन् भन्ने अन्योल कायम छ ।

कम्पनीहरुले प्राधिकरणलाई दिने तथ्यांकमा आधारमा यो रिपोर्ट तयार गरिन्छ । त्यसका कारण हालसम्म वितरण भएका सेवालाई नै कम्पनीले आफ्नो प्रयोगकर्ताको संख्यामा गणना गर्ने गरेका छन् । यसका कारण तथ्यांक विश्वसनीय बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment