Comments Add Comment

वीरगञ्जको ठाकुरराम क्याम्पसमा तोडफोड

१४ भदौं, वीरगञ्ज । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् ।

क्याम्पस प्रमुख परिवर्तन गर्नुपर्ने लगायत विभिन्न १४ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुले वार्ता स्थलमै तोडफोड गरेका हुन् ।

क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनसँग बिहान वार्ता राखिएको थियो ।

यसअघि भदौं ४ गते नै उनीहरुले क्याम्पस प्रमुख परिवर्तन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत त्रिभुवन विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने क्याम्पसको लेखा र स्टोर शाखामा तालाबन्दी समेत गरेका थिए ।

ठाकुरराम बहुमुखी क्याम्पसमा व्यापक अनियमितता भएको भन्दै उनीहरुले उच्च स्तरीय छानविन समिति गठन गर्न माग समेत गरेका छन् ।

क्याम्पस प्रमुख प्रमोद कुशवाहले आक्रोशमा आएर वार्ता स्थलमै विद्यार्थीहरुले कुर्सी तोडफोड गरेको बताए । १५ वटा जति काठको कुर्सीमा क्षति पुगेको उनको भनाइ छ ।

‘अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरुसँग वार्ता भइरहेको थियो, वार्ताबाट समाधान खोज्नुपर्नेमा हामीले लेखा शाखामा लगाएको ताला किन खोलाएको भन्दै विद्यार्थीहरु आक्रोशमा आएर तोडफोड शुरु गरे’, उनले भने ‘उनीहरुले लगाएको ताला क्याम्पस प्रशासनले नभई स्कलरसीपको पैसा लिन बाँकी रहेका विद्यार्थीहरुले फोडेका हुन् । स्टोरमा लगाएको तालाबन्दी यथावत नै छ ।’

क्याम्पस प्रशासनले आफूहरुको आन्दोलन र मागलाई वेवास्ता गरेका कारण समस्या उत्पन्न भएको अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले बताए ।

‘पहिला विभिन्न माग राखेर ज्ञापन पत्र बुझायौं, ७ दिनमा समस्या समाधान गर्ने आश्वासन पाएका थियौं, त्यो पुरा नभएपछि हामीले लेखा र स्टोर शाखामा तालाबन्दी गरेका थियौं’, उनले भने, ‘माग पूरा गर्नुको साटो लेखामा लगाएको ताल्चा तोड्ने काम भयो । वार्तामा पनि यो मान्दैनौं, त्यो मान्दैनौं भनेर अभद्र कुराहरु आए, त्यसपछि साथीहरु आक्रोशमा आएर तोडफोडमा उत्रिएका हुन् ।’

उनले घटनाको जिम्मेवारी क्याम्पस प्रशासनले नै लिनुपर्नेमा जोड दिए ।

दुबै संगठनले क्याम्पस प्रमुखले पहिले भएका सहमती लागू नगरेको र क्याम्पसको प्राज्ञिक वातावरण बिग्रेको भन्दै क्याम्पस प्रमुख परिर्वतन गरी क्याम्पसलाई बचाउन माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment