Comments Add Comment

वजेट अभावमा अलपत्र बन्यो घुमाउने–दमौंली जोड्ने बुद्धसिंह मार्ग

१४ भदौ, तनहुँ । केन्द्रीय सरकारले वजेट नदिदा चितवनको घुमाउनेदेखि तनहुँ सदरमुकाम दमौंली जोड्ने बुद्धसिंह मार्गको निर्माण कार्य अलपत्र परेको छ ।

मुग्लिङ नारायणगढ सडक खण्डको बैकल्पिक मार्गका रुपमा लिइएको यस सडकखण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिएको छैन ।

गत वर्ष भदौमा बहुवर्षीय आयोजना अन्र्तगत साढे २ वर्षभित्र निर्माण गरिसक्ने गरी २५ करोडमा सडकको ठेक्का दिइएको थियो ।

गत वर्ष पहिलो चरणमा १० करोड वजेट विनियोजन भएर ग्राभेल, पक्की नाला, हृयुम पाइप राख्ने लगायतका काम भैरहेको छ । तर, यसपटक बजेट नआउँदा बाँकी काम अघि बढन सकेको छैन ।

बहुवषर्ीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेको सो सडकमा सरकारले थप वजेट नदिएपछि बीचमा नै काम रोकिने सम्भावना बढेको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका प्रमुख भानु जोशीले गत आवमा ठेक्का सम्झौता बमोजिम अहिलेसम्म पुरै सडक खण्डमा ग्राबेलको काम पूरा भए पनि थप बजेट नआउँदा पिचको काम गर्न नसकिएको बताए ।

कामको बाँँकी रकम दिन पनि समस्या भएको उनको भनाइ छ । कार्यालयका प्रमुख जोशीले भने ‘साँढे २ वर्ष वर्षको ठेक्का सम्झौता भएको हो, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन, कसरी काम अघि बढाउने ?’

निर्माण कम्पनीका ठेकेदार राजकुमार खड्काले अहिलेसम्म ११ करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी रकम नपाएको गुनासो गरे । ‘काम गरेवापतको भुक्तानी समेत आएको छैन, सम्झौता अनुसार रकम पनि आएन, काम पनि पाइएन, ठेकेदार खड्काले भने, ‘अव रकम भुक्तानी नभएसम्म काम अगाडि बढाउन सकिदैन ।’

सडकको ग्राभेल, ढल निर्माण, रिटेन्सन वाल निर्माण लगायतको ७० प्रतिशत कार्य पूरा भएको खड्काले जानकारी दिए ।

३१ किलोमिटर दुरीको वृद्धसिंहमार्गको थप निर्माणमा रकम नआएपछि स्थानीय बासिन्दाहरु निराश बनेका छन् ।

सडक उपभोक्ता समितिका निवर्तमान अध्यक्ष विश्व बास्तोलाले जनप्रतिनिधिहरुको कम चासोका दिएकोले सडक खण्डको लागी राष्ट्रिय योजनामा पार्न नसकिएको गुनासो गरे ।

केन्द्र सरकारले यो विषयलाई प्रदेश सरकारको जिम्मा लगाएर जिम्मेवारीबाट पन्छिन् खोजेको आरोप बास्तोलाको छ । यो मार्गबाट तनहुँ सदरमुकाम दमौलीबाट मात्रै ५० किलोमिटरको दूरीमा नारायणगढ पुग्न सकिन्छ ।

चितवनको घुमाउनेमा त्रिशुली नदीमाथि पक्की पुल निर्माणको काम भैरहेको छ । पुल निर्माण र सडकको स्त्तारोन्नतीपछि दमौंली-नारायणगढको दुरी २४ किलोमिटर छोटो हुनेछ ।

सेती नदीको किनारैं किनार रहेको यस सडकखण्ड निर्माणपछि घुमाउने, मुग्लिन, आँबुखैरहनी, डुम्रेलगायतका सडकमा सवारीको चाप कम हुनेछ । बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्लामा जाने सवारी साधान यहि सडक भएर जानेछन् ।

सांसद श्रेष्ठ भन्छन् : सडक निर्माणको काम रोकिदैन

तनहुँ क्षेत्र नः १ मा पर्ने बुद्धसिंह मार्गका लागि चालु आर्थिक वर्षमा नै वजेट पार्ने सांसद किसान श्रेष्ठले जानकारी दिएका छन् । ‘संघीयताका कारण केही अन्योल भएर वजेट नआएको हो, दशैं लगत्तै बुद्धसिंह मार्गसहित घुमाउनेको पुल, कलेस्तीबाट गजौंडे हुँदै पाँच साय फाँट जाने मादी मस्याङ्दी सडक र कालीमाटी मानेचौंका कुन्छा सडकलाई वजेट ल्याउँछु,’ सांसद श्रेष्ठले भने, ‘सडक निर्माणको काम कुनै पनि बाहानामा रोकिदैन, मैंले जनतासँग वाचा गरेको छु ।’

क्रमागत शीर्षक अन्र्तगत नै तनहुँ यी ठूला सडकमा वजेट पारिने सांसद श्रेष्ठको भनाइ छ । घुमाउनेको पुलको शिलान्यास दशैं लगत्तै गर्ने सांसद श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment