Comments Add Comment

कपडा पसलमा लुटको धन्दा ! दशैंको मुखमा ठगिँदैछन् ग्राहक

१४ भदौ, काठमाडौं । दशैं आउनै लागेको छ, पक्कै पनि तपाईले परिवारजनलाई कपडा किन्नेबारे सोचिरहनुभएकै होला । तर, कपडा किन्नुअघि तपाई सचेत बन्न जरुरी छ । एक प्रकारले भन्ने हो भने अहिलेकै अवस्थामा कपडा किन्नु भनेको तपाईं लुटिनुजस्तै हो ।

ललितपुरको लखनखेल बस्ने मनोज ढकाल पाइन्ट किन्न न्युरोड पुगे । यसो हेर्दै जाँदा लिभाइज ब्राण्डको ट्याग लगाइएको पाइन्ट मन परेपछि त्यही किन्ने निर्णयमा पुगे ।

ओर्जिनल हो कि होइन ? रङ खुइलिन्छ कि खुइलिँदैन ? यस्तो प्रश्नमा पसलेले उनलाई यसरी कन्भिन्स गरे कि, उनी त्यो पाइन्ट ओर्जिनल ब्राण्डकै हो भन्नेमा विवस्त भए ।

केहीबेरको बार्गेनिङपछि पसलेले ‘घाटै खाएर दिएँ’ भन्दै ४२ सय रुपैयाँबाट घटेर २८ सयमा दिन तयार भए ।

बार्गेनिङ गरेर १४ सय रुपैयाँ घटाउन सकेकोमा यता मनोजलाई पनि गौरववोध भयो । तर, ४२ सय पर्ने पाइन्ट कसरी २८ सयमा दिन तयार भए पसले भन्नेतिर उनको ध्यानै गएन ।

के साँच्चै पसलेले घाटै खाएर दिए त ? यस्तो पनि कसैले पत्याउला ? कपडामा हुने ठगीको यो त एउटा सामान्य उदाहरण मात्रै हो । व्यापारीले कपडामा १० औं गुणासम्म मुनाफा खाएर बेचिरहेको ‘ओपन सेक्रेट’ हो यो घटना ।

महाबौद्धको होलसेल पसलमा ९ सय रुपैयाँमा पाइने पाइन्ट खिचापोखरी आइपुग्दा २ हजारमाथि बेचेको पाइन्छ । एउटै ब्राण्डको उही कपडा पनि बजार र पसलैपिच्छे फरक छन् ।

एक वर्षअघि भदौमा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वको टोलीले दरमार्गका पसलमा छापा हान्यो । त्यस क्रममा खुलेको रहस्य अनपेक्षित भयो । सामान्यतः हामीले दोब्बर मूल्यसम्म बेच्लान् भन्ने ठान्ने छौं । तर, व्यापारीले २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाइने कानुनी प्रावधान विपरीत मनोमानी मूल्य असुलेको भेटियो ।

दरबारमार्गको पसलमा ४७ सयमा खरिद गरेर ल्याएको जुत्ताको बजारमूल्य २६ हजारभन्दा बढी राखेको तथ्यले एकताका हलचल मच्चिएको थियो राजधानीमा ।

व्यापारीले कपडा, जुत्ता लगायतका सामानमा उपभोक्तासँग १ हजार प्रतिशतसम्म नाफा असुल्ने गरेको भेटियो । आपूर्ति विभागको टोलीले त्यस्ता पसलमा शील पनि गर्‍यो । तर, त्यस्ता पसलमा अनुगमनको दोस्रो ‘एपीसोड’ अहिलेसम्म आएन ।

गुणस्तहीन कपडामा पनि ब्राण्डिङ ट्याग

वाहृय देशबाट आयातीत कपडाको गुणस्तरबारे सरोकारवाला निकायले त्यति चासो दिएको पाइन्न ।

व्यापारीले गुणस्तरहीन कपडा ल्याएर अन्तरराष्ट्रिय बजारमा नाम चलेका ब्राण्डको ट्याग राखेर उपभोक्तालाई भ्रममा पारेर ठगिरहेका छन् ।
व्यापारीले वाहृय देशमा मिति गुजि्रएका कपडासमेत आयात गरेर नेपालमै नयाँ ब्राण्ड दिने गरेको उपभोक्ता हित संरक्षण मञ्च-नेपालका कार्यक्रम निर्देशक एवं अधिवक्ता हरिप्रसाद मैनाली बताउँछन् ।

ठूला र नाम चलेका ब्राण्डको ट्याग देखेपछि उपभोक्ता पनि विस्वस्त हुने र जति भन्यो त्यति मूल्य तिर्न तयार हुने देखेर व्यापारीले यस्ता फण्डा अपनाउने गरेको उनको बुझाइ छ ।

निकै सस्तो मूल्यमा ल्याएको कपडामा समेत व्यापारी आफैले ‘प्राइस ट्याग’ राखेर गैरकानूनी तरिकाले कयौं गुणा नाफा असुल्ने गरेका छन् ।

उपभोक्ता सचेत हुन जरुरी

कपडामा हुने ठगीबाट बच्न उपभोक्ता आँफै पनि सचेत हुन जरुरी छ । तर, गुणस्तर र वास्तविक मूल्य पत्ता लगाउन सजिलै सक्ने अवस्था भने छैन ।

मोलमोलाइका बेला कपडाको गुणस्तर, ब्राण्डमा पसलेले यस्तो भ्रम सिर्जना गरिदिन्छन् कि जो कोहिले त्यसको भेउ पाउन सक्दैन । गुणस्तरीय र चलेको ब्राण्डको भनेपछि हामी त्यो राम्रो होला भन्ठान्छौं ।

विक्रीमूल्य ५६ सय राखिएको कुनै पाइन्ट अन्तिममा १७ सयमा बेच्न कुनै पसले तयार हुन्छ भने उसले कतिमा खरिद गरेर ल्याएको होला ? अनि त्यसको गुणस्तर के होला ? यसबारे बुझ्नुपर्ने उपभोक्तावादी मैनाली बताउँछन । ‘१७ सयमा बेच्दा पनि उसलाई घाटा परेको हुँदैन, उनी भन्छन, यति गर्दा पनि उसले सय प्रतिशतसम्म नाफा राख्छ ।’

ठगीमा कानुनी दण्ड सजाय भए पनि व्यापारीलाई त्यसको त्रास छैन । सामान किन्दा उक्त सामानको खरिदमूल्य, विक्री मूल्य, भन्सार शुल्कबाहेक पनि उसले अत्यधीक नाफा राखेको शंका लागे उपभोक्ताले उजुरी गर्नुपर्ने उनी बताउँछन् । ‘हामी अरु सामानमा ठगी भएको थाहा पाउँदा चर्को विरोधमा उत्रिन्छौं, उनी भन्छन्, तर कपडामा ठगिएको बारेमा त्यति चर्चा छैन ।’

यसका लागि उजुरी गरेर सम्वद्ध निकायलाई घचघच्याउनुपर्ने उनको सुझाव छ । नयाँ अपराध संहितामा कसैलाई झुक्याएर कुनै पनि वस्तु बेचबेबिखन गर्न नहुने भनिएको छ । त्यस्तो भेटिए ठगी गर्नेमाथि ३ वर्ष कैद र तीन हजार जरिवानाको प्रावधान छ ।

सरकारी निकायलाई चासो छैन

कपडा पसलका बेथितिबारे सरकारी निकायले त्यति चासो दिएको पाइन्न । पछिल्लोपटक दरमार्गका पसलमा छापा मारेपछि फेरि अनुगमन भएको छैन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचन उजुरी आए अनुगमन हुने बताउँछन् । अरु उपभोग्य सामानमा जस्तो कपडाका विषयमा अनुगमन नभएको उनी स्वीकार्छन् ।

अत्यावश्यक उपभोग्य वस्तुसहित २९ वटा सामानको गुणस्तर र ठगीबारे विभागले अनुगमन गर्छ । कपडामा साडीमाबाहेक अन्यमा अनुगमन नै हुँदैन ।

ठगीसम्बन्धी उजुरी गर्न सिधै विभागको हटलाईन नम्बर ४२४७९१२/९१ मा कल गरेर भन्न सकिन्छ । तर, विभागका अनुगमन अधिकृत दीपकराज पोखरेल कपडामा हुने ठगीबारे अहिलेसम्म कसैले उजुरी नगरेको बताउँछन् ।

चाडबाडका बेला झन् कपडामा ठगीस्तर हृवात्तै बढ्छ । त्यसैले पनि समयमै अनुगमन हुनु जरुरी छ ।

सटरको भाडाले बढाउँछ वस्तुको मूल्य ?

काठमाडौंको दरबारमार्ग, न्युरोड लगायत विभिन्न मलहरुमा एउटै सटरको भाडा ३ लाखसम्म छ । यस्तोमा त्यहाँ पसल चलाउनेले लागत, मुनाफा विक्री गर्ने वस्तुबाटै उठाउँछन् ।

पसल राख्ने ठाउँको भाडा अत्यधीक महंगो हुँदा पनि सामान महंगोमा बेच्नुपरेको व्यापारीहरुको तर्क छ ।

भाडाका विषयमा निराकरण सरकारले गरिदिनुपर्ने उपभोक्तावादी मैनाली बताउँछन् । पसलको ग्रेडिङ गरेर पनि ठगी रोक्न सकिने मैनालीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment