Comments Add Comment

पर्सामा नेविसंघभित्र फेरि विवाद

१७ भदौ, वीरगञ्ज । पर्सामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा फेरि विवाद भएको छ ।

झण्डै ९ वर्षदेखि जिल्ला अधिवेशन हुन नसकेको नेविसंघमा अधिवेशन गराउने विषयलाई नै लिएर विवाद भएको हो ।

नेपाली कांग्रेस जिल्ला सभापति अजय द्विवेदीले नेविसंघमा नेता दिलिपराज कार्कीलाई जिल्ला अधिवेशन गराउने जिम्मा दिएका थिए । कार्की आफू जिल्ला अधिवेशन गराउने तयारीमा रहेको बताउँछन् ।

तर आफूलाई नेविसंघ पर्साको आधिकारिक अध्यक्ष रहेको बताउँदै सन्तोषकुमार गुप्ताले त्यसको विरोध गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघको सिद्धान्त, अनुशासन, विधि, प्रक्रिया र विधान विपरीत संयोजकको नाममा गतिविधि भइरहेको भन्दै विरोध जनाए ।

कुनै पनि क्याम्पसमा ईकाई अधिवेशन नभएको अवस्थामा गरिने कुनै पनि अधिवेशन विधानसम्मत नहुने दावी गर्दै उनले केही दिनअघि भएको क्षेत्रीय अधिवेशनसमेत अमान्य हुने बताएका छन् ।

नेविसंघको केन्द्रीय समितिले अधिवेशन सम्पन्न गराउनका लागि ठाकुरराम बहुमुखी क्याम्पस ईकाईलाई केन्द्र तोकेको र इकाईको जिम्मेवारी सहित सुनिलकुमार सर्राफलाई केन्द्रले अधिवेशनको जिम्मा दिएको दावी पत्रकार सम्मेलनमा सहभागीहरुले गरेका छन् ।

‘सबै पक्षलाई मिलाएर अधिवेशन गर्नुपर्नेमा एकलौटी ढंगले गर्न खोजिएको छ’ उनले भने ‘विद्यानसम्मत नभएसम्म हामी त्यसलाई मान्दैनौं ।’
नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसमेत एकलौटी ढंगले चलेको आरोप पत्रकार सम्मेलनमा लगाइएको छ ।

संगठनभित्र सबै कुरा राख्दा सुनुवाई नभएपछि पत्रकार सम्मेलन गरेर विरोध जनाउनुपरेको अर्का नेता सन्तोष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment