Comments Add Comment

पाकिस्तानसँगको हारपछि बालगोपालले के भने ?

१९ भदौ, ढाका । साफ च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान प्रवेश गरेको नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित हुन पुग्यो ।

नेपालले सहज जितको अपेक्षा यसअर्थमा पनि गरेको थियो कि पाकिस्तान फिफाको प्रतिबन्ध खेपेर लामो समयपछि अन्तराष्ट्रिय फुटबलमा फर्किएको हो । तर नतिजा नेपालले सोचेअनुरुप भएन । खेल अवधिभर बल नियन्त्रणमा लिए पनि नेपालको पुरानै समस्या दोहोरियो आफ्नो डिबक्सभित्र फल गर्नू ।

विजयी भावसहित बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा उत्रिएको नेपालले अन्तिम समयमा गोल खाँदै पाकिस्तानलाई ३ अंक सुम्पियो ।

खेलपछि प्रशिक्षक बालगोपाल महर्जनले हारको मुख्य कारण डिफेन्स लाइन चुक्नु भएको बताए । ‘आज केटाहरूले जुन खेल खेले, त्यसमा सन्तुष्ट छु’ उनले भने, ‘गल्तीहरू हुन्छ, आउने खेलमा सच्याउँदै जाने हो । आज हाम्रो डिफेन्समा गल्ती भयो ।’

खेलको सुरुवातमै नेपालले आक्रामक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । नेपाली खेलाडीहरुले पाएको अवसर पनि सदुपयोग गर्न नसकिरहेको बेला ३४ औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो । कप्तान विराज महर्जनले गरेको फउलमा पेनाल्टी पाएको पाकिस्तानका हसन नविद बासिरले गोल गरे ।

नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो तर, पाएको सदूपयोग गर्न सकेन । खेलको ८२ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले बराबरी गोल फर्काए । सुजल श्रेष्ठले प्रहार गरेको बलमा निराजन खड्काले हेड गर्दै दिएको पासमा उनले वान टच भली गोल गरेका हुन् ।

यो गोलसँगै नेपाली टोलीमा जितको आश पलाएको थियो । नेपाली खेलाडी बल छिटो रिलिज गर्दै थप गोल गर्ने प्रयासमा जुटेका थिए, तर ठीक उल्टो भयो ।

इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेडर गोल गर्दै पाकिस्तानलाई जित दिलाए । त्यसमा पनि विपक्षी खेलाडीलाई मार्क नगर्नु डिफेण्डरहरुको कमजोरी नै देखियो ।

प्रशिक्षक बालगोपाल महर्जनले नेपालको नकआउट चरण पुग्ने सम्भावना कायमै रहेको बताए । प्रशिक्षक महर्जनले भने, ‘हाम्रो सम्भावना अझै बाँकी छ । अब बाँकी दुई खेलमा जित हात पार्दै हामी सेमिफाइनलमा पुग्छौं ।’

समूह ‘ए’ मा रहेको नेपालसँगै पर्सी भुटानसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल आयोजक राष्ट्र बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment