Comments Add Comment

अन्तिम मिनेटमा गोल खाँदै पाकिस्तानसँग हार्‍यो नेपाल

१८ भदौ, ढाका । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।

यसअघि ८२औं मिनेटमा नेपालका विमल घर्तीमगरले बराबरी गोल गरेका थिए । निराजन खड्काको हेड बलमा विमलले वान टच भली गोल गरेका हुन् ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा पेनाल्टीमा गोल खाएको थियो । खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । त्यसमा हसन नविद बासिरले सहजै गोल गरे ।

खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन ।

लगतै विमल घर्तीमगरले राम्रो बल निकालेका थिए । कप्तान विराज महर्जनले प्रहार पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटलेसहजै नियन्त्रणमा लिएका थिए । खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए । पहिलो हाफको अन्तिम समयमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमाएको थियो ।

दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो तर, पाएको मौकालाई गोलमा परिणत गर्न भने सकेन ।

खेलको ६७ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा राष्ट्रिय टिममा लामो समयपछि परेका निराजन खड्का मैदानमा छिरे । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका निराजनले खेलको ७१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार साइडबार नजिकबाट बाहिरिएको थियो ।

७२ औं मिनेटमा भरत खवासको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । लगतै पाकिस्तानले गोल गर्ने राम्रो अवसर खेर फाल्यो । नेपाली डिफेन्डर सबै अघि बढेको अवस्थामा पाकिस्तानका साहदुल्लाहले प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो ।

खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

तर, अतिरिक्त समयमा नेपालविरुद्ध पाकिस्तानले गोल गर्दै २-१ को जित सुनिश्चित गरेको छ । नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment