Comments Add Comment

स्रोत नखुलेको रकमसहित पक्राउ परेका गुप्ता धरौटीमा छुटे

२० भदौ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएका ५ जना मध्ये ४ जना रिहा भएका छन् । धरौटी बुझाउन नसकेका कारण एकजना भने जेल चलान भएका छन् ।

विशेष सूचनाको आधारमा एकैपटक तीन स्थानमा छापामारी प्रहरीले भदौं १७ गते स्रोत नखुलेको ५४ लाख ९६ हजार रुपैयाँसहित अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको थियो ।

मुख्य हुण्डी कारोबारी भनिएका विन्दवासनी गाँउपालिका-५ प्रसौनीभाठा बस्ने पवनकुमार गुप्ता विगो बमोजिम २६ लाख ९६ हजार धरौटी तिरेर रिहा भएका हुन् भने अन्य तीन जना कर्मचारी भएकोले तारेखमा रिहा गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

हल र मनी चेञ्जरका समेत सञ्चालक रहेका पवनले बैंक जम्मा गर्न बाँकी रहेको रकम प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् ।

प्रहरीले भदौं १७ गते पवनसँगै वीरगञ्ज महानगरपालिका वडा नं ६ जेल रोड बस्ने अजय मानन्धर, पूर्वी चम्पारण जिल्ला मोतिहारी पञ्चायत चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, मोतिहारी रक्सौल नगरपालिका वडा नं ३ थाना रक्सौल बस्ने अशोक श्रीवास्तवलाई पनि पक्राउ गरेको थियो ।

त्यसैगरि स्रोत नखुलेको २७ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिका वडा नं १ खजानी बस्ने अजयकुमार जैसवाल भने धरौटी तिर्न नसकेका कारण जेल चलान भएका छन् ।

विभागका निर्देशक नारायण रिमालले ५ जना मध्ये ४ जना रिहा भएको र धरौटी बुझाउन नसकेका कारण एक जना जेल चलान गरिएको जानकारी दिए । ‘अहिले नै हुण्डी कारोबारी नै हुन् भनेर पुष्टि गर्ने आधार त भेटिएको छैन । आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ उनले भने ‘ ३ जना कर्मचारी मात्रै भएको देखिएकोले उनीहरुलाई तारेखमा रिहा गरेका हौं ।’

प्रहरीले बरामद गरिएको भनिएको रकम भन्दा २ हजार रुपैयाँ कम रकम राजश्वमा बुझाएको जानकारी उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment