Comments Add Comment

जीर्ण बन्यो वीरगञ्ज-रक्सौल मितेरी पुल, सांसदको चासो

२० भदाै, वीरगञ्ज । नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज-रक्सौल नाकाको मितेरी पुल जीर्ण छ । सिर्सिया नदीमा रहेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढी रहेको छ । भारी सवारी साधन गुड्ने मात्रै नभएर मानिस र सवारीको अत्याधिक चाप हुने मितेरी पुल जीर्ण हुँदा ठूलै दुर्घटना घट्न सक्ने चिन्ता सर्बसाधरणको छ ।

सरोकारवालाहरुले पटक-पटक हारगुहार गरेपनि सरकारको ध्यानाकर्षण नहुँदा पुलको मर्मत सम्भार हुन सकेको छैन । केही दिनअघि उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा आएका नेकपा अध्यक्ष प्रचण्डलाई वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभासद ओमप्रकाश शर्माले पुलमा पुगेरै अवस्था हेर्न आग्रह गरेका थिए ।

भाैतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ वीरगञ्ज आउँदा बाईपास सडक र मितेरी पुलको मर्मत गर्ने आश्वासन दिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

यस्तैमा मितेरी पुलको बिग्रेको अवस्था सुधार गर्न सांसद प्रदीप यादवले चासो देखाएका छन् । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका उनी पनि पछिल्लो मधेस आन्दोलनमा त्यही मितेरी पुलमा पाल टाँगेर धर्नामा बसेका थिए ।

वर्षातमा वीरगञ्जलाई सीमावर्ती शहर रक्सौल जोड्ने मितेरीपुल हुँदै आवातजावत गर्न झनै समस्या छ । वीरगन्ज र रक्सोलका नागरिक अगुवाहरुले पुलको बारेमा गुनासो गरेपछि पुलको जिर्णेधारका निम्ति पहल सुरु गर्न स्थलगत अनुगमन गरेको प्रतिक्रिया सांसद यादवले जनाएका छन् ।

‘मितेरी पुल आवतजावत गर्ने एउटा माध्यम मात्र नभएर दुई देशविचको सम्बन्धको सेतु हो । यो जीर्ण हुनु लज्जाको विषय हो ।’ उनले भने ‘ऐतिहासिक मितेरी पुलको अवस्थामा सुधार ल्याउँछु ।’

नेपाल तिरको पाटोको मर्मत सम्भार गर्न वीरगन्ज महानगरपालिकाले अग्रसरता लिनुपर्ने प्रस्ताव गरेपछि नगरप्रमुख विजय सरावगी र प्रमुख प्रसाशकीय अधिकृत भिष्मकुमार भुषालले समर्थन जनाएका छन् । मर्मत सम्भारको काम चाँडै थाल्ने आश्वासन महानगरपालिकाले दिएको छ ।

‘तत्कालका लागि गिटी खसालेर बाटो सुधार महानगरपालिकाले गर्छ, ‘ सांसद यादवले भने ‘ पछि केन्द्रीय योजनाबाट मितेरी पुल र बाईपास सडक क्षेत्रको काम गर्न सबै मिलेर दवाव दिनुपर्छ ।’

स्थलतग निरीक्षणका क्रममा मितेरी पुल पुगेको सांसदसहितको टोलीलाई स्वागत गर्न रक्सौलका नागरिक अगुवा महेश अग्रवाल लगायत सिमामा आइपुगेका थिए । उनीहरुले आफुहरुले भारत तर्फ पनि सरोकारवाला निकायहरुलाई घचघच्याउने काम गरिरहेको जानकारी गराए ।

संासद यादवसँगै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषाल लगायत मितेरी पुल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment