Comments Add Comment

पूर्व-पश्चिम राजमार्गको कञ्चनरुपदेखि कमलासम्म अब चार लेन

२१ भदौ, काठमाडौं । सप्तरीको कञ्चनरुप (रुपनगर)देखि सिराहको कमलासम्मको सडक खण्ड आधुनिक स्वरुपमा विस्तार हुने भएको छ । अहिले दुई लेनमात्रै रहेको यो खण्ड विस्तारपछि चार लेनको हुनेछ । सँगै सोल्डर र सर्भिसलेन पनि जोडिनेछ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगतको महत्वपूर्ण खण्डका रुपमा रहेको सडकलाई विस्तार गर्न लगननी जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो झण्डै ८५ किलोमिटरको सडकखण्ड हो ।

सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो । यसका लागि केही महिनाभित्रै एडीबीसँग ऋण सम्झौता हुने एडीबी आयोजनाका निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।

लगानीका लागि ऋण सम्झौता भएपछि टेण्डर प्रक्रिया टुंग्याएर एडीबीको सहमति लिएपछि आयोजना कार्यान्वयन हुनेछ ।

सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । यो खण्डमा झण्डै ५५ वटा साना-ठूला पुलहरु छन् । जसलाई पनि चार लेनमा विस्तार गरिँदैछ । दायाँ-बायाँ एक-एक लेन थपेर पुलहरु पनि थपिने शाक्यले बताए ।

यो सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै १८० मिलियन डलर (२० अर्ब रुपैयाँ) बराबरको ऋण दिँदैछ । यो सहलियत ब्याजदरको ऋण हो ।

यो सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई-दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।

मिडियन भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

सडकको दुबैतर्फको छेउ भागमा पनि पातलो पीच गरिनेछ । यस्तो सडकलाई सोल्डर भनिन्छ ।


सडकको दुबैतर्फ २.५ मिटरको भागलाई पातलो पीच गरेर गाडीहरु पार्किङका लागि प्रयोग गर्न मिल्ने गरी बनाइनेछ । यो भागमा गाडी भने गुड्न पाउने छैनन् ।

यो सडक खण्डको मूलः विशेषता हो राजमार्ग छेउका बस्तीहरुमा ‘सर्भिस लेन’ । सडकको किनारमा बस्ती भएका क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिनेछ ।

सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । झण्डै २८ किलोमिटर सडकमा सर्भिस लेन पनि हुनेछन् ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । सर्भिस लेन पनि ७ मिटरको हुनेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।

यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ देखि ४ वर्ष लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment