Comments Add Comment

इनरिकको आगमनसँगै बदलिएको स्पेनिस टिम

२१ भदौ, काठमाडौं । प्रशिक्षक लुइस इनरिकले राष्ट्रिय टिम सम्हालेसँगै स्पेनिस फुटबलमा नयाँ युग सुरु भएको छ ।

रियल मड्रिडसँग सुटुक्क सम्झौता गरेको आरोपमा विश्वकपको दुई दिन अघि प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्दै फर्नान्डो हिरेरोलाई जिम्मेवारी दिइएको थियो ।

तर, विश्वकपमा आयोजक रसियासँग पराजित भएर स्पेन अन्तिम १६ को खेलबाटै बाहिरिएको थियो । हिरेरो पूर्ववत जिम्मेवारी स्पोर्टिङ डाइरेक्टरमा फर्किएका छन् भने बार्सिलोनाका पूर्वप्रशिक्षक इनरिकलाई प्रशिक्षक नियुक्त गरिएको छ ।

इनरिक आएसँगै खेलाडीको शैली फेरिने विश्वास गरिएको छ । इनरिकले टिम सम्हालेपछि पूर्ण स्वतन्त्र पनि होइन, पूर्ण बन्धन पनि होइन भन्ने स्थिति देखिएको छ । स्पेन फुटबलको शैली फर्काएर फेरि उचाइमा पुर्‍याउन इनरिकले आˆनो शैलीसँगै खेलाडीको अवस्था विचार गरिरहेका छन् ।

जेरार्ड पिके, डेभिड सिल्भा, आन्द्रे इनिस्टा जस्ता खेलाडीको सन्यासपछि आएका इनरिकले नयाँ लाइन अप बनाउन र तालमेल मिलाउन सुरु गरेका छन् ।

हिरेरोले टिम सम्हाल्दा स्पेनिस टिममा पोसेसन राम्रो देखिए पनि उत्कृष्ट फिनिसिङ भएको थिएन । इनरिकले अब अवस्था अनुसार पोसेसन र स्कोरमा ध्यान दिने छन् ।

यसैले इनरिकले पासको शैलीलाई छिटोछिटो परिवर्तन गर्ने र आवश्यक पर्दा पोस्टको दिशामा सिधा बढाउने शैलीमा काम गर्दै छन् । त्यसका हरेक खेलमा अवस्थाअनुसार निर्णय हुनेछ । विपक्षीले कसरी खेलेका छन् भन्ने कुरा विचार गर्नुपर्छ ।

विश्वकपमा हिरेरोले ४-३-३ को शैलीपछि ४-२-३-१ को शैली पछ्याएका थिए । त्यसपछि पुनः ४-३-३ को शैलीमा फर्किए पनि उनको कुनै शैलीले राम्रो काम गरेन ।

प्रशिक्षक इनरिकले पत्रकार सम्मेलनमा पनि आˆनै विशेष ४-३-३ को शैली प्रयोग गर्ने बताएका छन्, जसमा उनी बार्सिलोनामा सफल देखिएका पनि थिए ।

स्पेनिस टिममा खेल मिलाउन मुख्य भूमिकामा इनिस्टा देखिन्थे । उनको सन्यास लिइसकेकाले त्यही काम इस्कोमार्फत हुनसक्ने फुटबल पण्डितहरुले बताएका छन् । मार्काका अनुसार इनरिक त्यही प्लेमेकरको खोजीमा छन् ।

इनरिकले पनि इस्कोको शैली आफूलाई मन परेको र मैदानमा उनलाई पूर्ण जिम्मेवारी दिइने बताएका छन् ।

स्पेनिस टिममा चलेको अर्को बहस गोलकिपरलाई लिएर हो । विश्वकपका खेलमा डेभिड डे गाले सामान्य गल्ती गर्दा टिमले ठूलो मूल्य चुकाउनु परेको थियो । अहिले इनरिकले डे गासँगै, केपा र पाउ लोपेजलाई हेरिरहेका छन् । त्यसमा पहिलो रोजाइँमा कसलाई राख्छन् भन्ने अझै तय भएको छैन ।

इनरिकले टिममा सुरु गरेको नयाँ काम सकेसम्म सबै खेलाडी धेरै समय सँगै रहुन् भन्ने हो । फिट रहेका खेलाडीलाई पहिले परिवार र साथीभाइसँग केही समय बाहिर जान दिइने गरेको भए पनि इनरिकले त्यसमा परिवर्तन गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment