
२८ फागुन, काठमाडौं । जिनेदिन जिदानले फेरि रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनले गत मे महिनामा रियल मड्रिडको प्रशिक्षक पद त्यागेका थिए ।
त्यसपछि प्रशिक्षकको जिम्मेवारी जुलियन लोपेटेगीले पाएका थिए । उनले राम्रो गर्न नसकेपछि सान्टियागो सोलारीलाई जिम्मेवारी दिइएको थियो । तर, उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेल प्रदर्शन गर्न सकेन । त्यसको पछिल्लो उदाहरण हालै रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।
गत मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भयो र समग्रमा ५-३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।
त्यसपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सोलारीलाई प्रशिक्षकबाट हटाएर जिदानलाई फर्काएका हुन् । जिदानले रियल मड्रिडसँग सन् २०२२ सम्म सम्झौता गरेका छन् ।
४६ वर्षीय जिदान रियल मड्रिडका पूर्व मिडफिल्डर हुन् । उनले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधी दिलाएका थिए ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4