Comments Add Comment

जितपछि पनि सोलारीको भविष्य अनिश्चित

काठमाडौं । ला लिगामा तेस्रो स्थानमा रहेको रियल मड्रिडले खराब सुरुवात गरेपनि दोस्रो हाफमा सुधार गर्दै रियल भायाडोलिडलाई ४–१ ले हरायो ।

लगातारको हारपछि हात पारेको जितले सान्त्वना मिलेको छ । तर शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछिपरेको अवस्थामा हत पारेको जितले पनि प्रशिक्षक सान्टियागो सोलारीलाई क्लबमा नै टिकाइराख्ने वातावरण भने बनेको छैन ।

आइतबार रातिको खेलमा रियल भायाडोलिडले २९ औं मिनेटमा बनाएको अग्रता पाँच मिनेट मात्रै रहन सक्यो । ३४ औं मिनेटमा भरानेले गोल गरेर बराबरी बनाएको खेलमा दोस्रो हाफमा बेन्जेमाले दुई र मोडरिकले एक गोल गरे ।

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनसँग ३–० ले, ला लिगामै बार्सिलोनासँगै १–० हारेपछि च्याम्पियन्स लिगमा आयाक्ससँग ४–१ ले हारेर अन्तिम १६ बाटै बाहिरिएको रियल मड्रिड दबावमा थियो ।

प्रशिक्षक सोलारी क्लबमा कहिलेसम्म रहलान् भन्ने प्रश्न उठिरहेका थिए । यस्तोमा भायाडोलिडविरुद्ध निकालेको जितले पनि सोलारीलाई क्लबमा जोडिराख्न भने सघाएको देखिँदैन ।

जारी सिजन प्रशिक्षकको रणनीतिका कारण खराब प्रदर्शन भइरहेको निक्यौलमा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जुलेन लोपेटेगीलाई हटाएर सान्टियागो सोलारीलाई ल्याएका थिए । सोलारीले सुरुमा विभिन्न प्रतियोगितामा लगातार चार खेल जितेर मड्रिडमा प्रभाव जमाए तर, धेरै समय रहन सकेन ।

ला लिगामा मात्रै होइन, कोपा डेलरे र लगातार तीन पटक जितेको च्याम्पियन्स लिगमा पनि मड्रिडले सोचेजस्तो गर्न सकेन । केही समयमा लागि भनिएका सोलारीमाथि मड्रिडले सुरुका केही हप्ता जुन विश्वास देखाएको थियो, त्यो टुटिसकेको छ । सोलारीले आफ्नो कामलाई उत्कृष्ट बनाउँदै जिनेदिने जिदानको बाटो पछ्याउँदै छन् भन्ने तारिफ भइरहे पनि उनी खरो उत्रिन सकेनन् ।

सोलारीले सुरुका केही हप्ता क्लबमा राम्रो प्रभाव पार्न सके । मेलिला, भायाडोलिड, प्लेजन र सेल्टाविरुद्ध जित निकालेर चम्कन थालेका उनका लागि दोस्रो चरणको परीक्षा भने सुखद भएन । सेल्टाविरुद्धको जितपछि नै उनी २०२१ जुन ३० सम्मका लागि प्रशिक्षकमा स्थायी नियुक्त भएका थिए ।

भायाडोलिडसँगको खेलपछि प्रशिक्षकको जागिरमा कहिलेसम्म रहिएला भनेर सोधिएको प्रश्नमा सोलारीले केही बताउन सकेनन् । उनले भने, ‘म यो प्रश्नको जवाफ दिनै सक्दिन ।’

‘यो हाम्रो लागि निकै कठिन हप्ता हो । त्यसैले भायाडोलिडविरुद्धको खेल अलि भावनात्मक थियो । विपक्षीले निकै राम्रो खेलेका हुन् तर हाम्रा खेलाडीले गोल परिणत गर्न सके’ उनले भने ।

सोलारीको स्थानमा रियल मड्रिडकै पूर्वप्रशिक्षक जोसे मोउरिन्होलाई ल्याउने तयारी भइरहेको छ । २०१० देखि २०१३ सम्म मड्रिड क्लब सम्हालेका मोउरिन्होले त्यसपछि इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक भएर काम गरे ।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शनपछि हटाइएका मोउरिन्होमाथि नै रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले विश्वास बढाएका छन् ।
यो पनि पढ्नुहोस रियल मड्रिडमा सकिएको एक युग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment