Comments Add Comment

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकियो

२१ भदौ, वीरगञ्ज । अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो ।

परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए ।

मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र, जितपुर तथा परवानीपुर बजारमा रहेका घर टहरा नहटाइएका कारण काम हुन सकेको छैन भने परवानीपुरदेखि गण्डकचौकसम्म पानी जम्ने समस्या यथावत रहेकोले काम गर्न समस्या छ ।

डोजरले खन्न नकस्ने ठाउँहरु, क्रसिङहरु, पुल र खोला नदीहरुमा डि्रलिङ गर्नुपर्ने देखिएकोले डि्रलिङ गर्ने मेशिन झिकाइएको परियोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले जानकारी दिए । ‘अवस्था सामान्य रहेका ठाउँहरुमा काम सम्पन्न भइसकेको छ । अवरोध भएका ठाउँमा रोकिएको हो,’ उनले भने, ‘अहिले अमलेखगञ्जस्थित डिपोमा ट्याङकी मर्मतको काम गरिरहेका छौं, डि्रलिङ मेशिन आएपछि थप काम अघि बढ्छ ।’

निकुञ्ज क्षेत्रमा काम परियोजनालाई गर्न वन मन्त्रालयले रुख काट्ने स्वीकृति दिएको छैन । जसले गर्दा पथलैयादेखि अमलेखगञ्जसम्म ९ किलोमिटर क्षेत्रमा काम अघि बढ्न नसकेको परियोजनाका अधिकारीहरु बताउँछन् ।

रुख काट्ने स्वीकृति आउने वित्तिकै रुख काटिने र रुख काटिसकेको १५ दिनमा खाल्डो खनेर पाइप ओछ्याइसक्ने लक्ष्य निर्माण कम्पनीको छ ।

सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहति भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ ।
पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्र्याउन सकिने दावी गरिएको छ ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ३ हजार ९ सय र ४ हजार १ सय किलोलिटर तेल अटने क्षमता भएका २/२ वटा गरी चार वटा ट्याङकीसमेत मर्मत भइरहेको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन आयातमा लागिरहेको करोडौं रुपैयाँ बचत हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment