+
+

सांसदले भने : बैंकहरुले सिण्डिकेट लगाए, उद्योगी निराश छन्

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १७:५०

२१ भदौ, काठमाडौं । बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएका कारण उद्योगी र ब्यापारी आतंकित भएको भन्दै सांसदले यसलाई निन्यन्त्रण गर्न माग गरेका छन् ।

बिहीबारको संसद बैठकमा सांसद पदम गिरीले ब्याजदर बढेका कारण अहिले उद्योगी व्यापारी आतंकित भएको र देशमा औद्योगिक वातावरण नै समाप्त हुन लागेको दावी गरे ।

अन्य क्षेत्रमा सिण्डिकेट अन्त्य गर्ने भने पनि बैंकहरुको सिण्डिकेटबारे सबै चुप लागेको भन्दै उनले ब्याजदर वृद्धिका कारण उद्योग व्यवसायमा आउन लालयित युवाहरु निराश भएको बताए । ‘उद्योग व्यवसायमा लगानी गर्नु भनेको सुकुम्बासी बन्नु हो भन्ने भएको छ’ उनले भने ।

ब्याजदरकै कारण उद्योगी र व्यवसायी पलायन हुने र सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसमेत पूरा नहुने खतरा रहेको सांसद गिरीले ताए । ‘उद्योग व्यवसाय छाडेर पलायन हुने स्थिति सिर्जना हुँदैछ । ब्याजदर वृद्धिका कारणले बस्तुको लागत बढेको छ, विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ’ उनले प्रश्न गरे, ‘यो ढंगले ब्याजदर बढ्ने हो भने कसरी ब्यापार गरेर उद्यम गरेर खान सक्छन् ? हामीले ध्यान दिनुपर्छ कि पर्दैन ?’

बैंकहरुले अन्य क्षेत्र चौपट भए होस् तर आफूहरु नाफा कमाउनुपर्छ भनेर लागेको सांसद गिरीले आरोप लगाए । ‘अन्य क्षेत्र घाटामा गए जाओस्, चौपट भए होस् केही छैन बैंकहरु नाफामै हुनुपर्ने ? अरु मरे मरोस् मेरो भुँडी भर्नैपर्ने भन्ने परम्परागत भनाइजस्तो बैंकले नाफा कमाइरहनुपर्ने अरु क्षेत्र धरासयी होस् भन्ने छ’ उनले भने ।

सांसद गिरीले बैंक र ऋणीबीच भएको सम्झौता एक वर्षसम्म परिवर्तन गर्न नपाउने नीति लगाउनुपर्ने धारणा राखे । उनले हाल वाणिज्य बैंकमा रहेको ४.५ प्रतिशत र विकास बैंकमा रहेको ५ प्रतिशतको स्प्रेड दर ३ प्रतिशतमा झारेमा उद्यम गर्न चाहने युवालाई राहत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?