Comments Add Comment

सरकारले फेला पारेन सर्वोत्कृष्ट कर्मचारी

२२ भदौ, काठमाडौं । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन ।

सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । तर अघिल्लो अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सरकारले सकेन ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस वर्ष १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । तर २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि भने कुनै पनि कर्मचारी छनोट नभएको एक मन्त्रीले जानकारी दिए ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी नगद दुई लाख छ । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी एक लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।

‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारासहित यो वर्ष निजामती सेवा दिवस मनाइँदै छ । दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा विषेश कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिने छ ।

शुक्रबारको कार्यक्रममा यस वर्ष र गत वर्ष सम्मानका लागि छनोट भएका निजामती कर्मचारीहरुलाई सँगै सम्मान गरिने छ । गत वर्ष तराई मधेसमा बाढी र डुबानको विपत्ती आएपछि निजामती सेवा पुरस्कार वितरण समारोह आयोजना गरिएको थिएन ।

गत वर्ष सरकारले दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनप्रसाद सेढाईं, जगन्नाथ बराल, लक्ष्मीदत्त कलौनी, प्रल्हादकुमार योगी र अनिल खनाललाई जनही एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment