Comments Add Comment

प्रधानमन्त्रीले कर्मचारीलाई भने–भुटेको मकै खानेलाई हेर्नुस् अनि सेवा सुविधाको कुरा गर्नुस्

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा-सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

‘हाम्रोमा निरपेक्ष गरिबी २१ प्रतिशत छ, तिनले भुटेको मकैसमेत पेटभरि खान पाउँदैनन्’, निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भने, ‘तिनलाई हेरेर सेवा-सुविधाको कुरा गर्नुस् ।’

प्रधानमन्त्री ओलीले कर्मचारीले घुस खाएको समाचार बारबार आउने गरेको भन्दै आउँदा दिनमा त्यस्तो समाचार सुन्नु नपर्ने विश्वास व्यक्त गरे । ‘कर्मचारीले घुस खाएको समाचार बारबार आउँछन’, प्रधानमन्त्रीले भने, ‘अब त्यस्तो सुन्नु नपरोस् ।’

उनले कर्मचारीको अहिलेको काम सन्तोषजनक नभएको खर्च कम र काम बढी गर्न निर्देशन समेत दिए । ‘अहिले हामीले दुई हप्तामा जुन काम गरिरहेका छौं, त्यसलाई एकै हप्तामा पनि गर्न सकिन्छ ,’ प्रधानमन्त्री ओलीले भने ।

कर्मचारी संगठन खारेज हुनुपर्ने बहस बेला-बेला उठ्ने गरेपनि उनले त्यो यथावत रहने भन्दै बचाउ गरेका छन् ।  ‘आधिकारिक ट्रेड युनियन आफैँमा कानुनी हैसियत प्राप्त संस्था हो । ‘तिनको मातृ संस्था उद्गमस्थल हो । तिनका कार्य र हैसियत यथवत रहन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तीनका कार्य र हैसियत यथावत रहन्छन् । त्यसमा कुनै दुविधा छैन् ।’

सोही कार्यक्रममा कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारी संगठन खारेज गर्न खोजीएको भन्दै आपत्ति जनाएका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क हुनुस । यो सरकार हाट्टहुट्ट गर्न बनेको होइन, तर्साउन बनेको होइन । तर्कसंगत ढङ्गले निर्णय गर्छ ।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल खुसी नेपाल नारा केवल नाराका लागि मात्रै नभएको भन्दै यसको मर्मअनुसार काम गर्नसमेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment