Comments Add Comment

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप

२२ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । महानगरपालिकाको सेवासुविधाको जानकारी समेटिएको एप सार्वजनिक गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले नगर कार्यपालिकाको बोर्ड मिटिङ्गमा एप सार्वजनिक गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागको पूर्ण सहयोगमा यो एप्लीकेशनको निर्माण गरिएको महानगरपालिकाले जनाएको छ ।

एपबाट सेवाका पक्रिया र आवश्यक कागजातका बारेमा बुझ्न र गुनासो समेत राख्न सकिने महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले जानकारी दिए । ‘तत्काल अहिले एप्लिकेशनबाट नागरिक वडापत्रसहित महानगरले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान भइरहेको छ, सेवाग्राहीले गुनासो पनि गर्न सक्छन्,’ उनले भने, ‘विस्तारै हामी महानगरको सम्पूर्ण चित्र हेर्न सक्ने बनाउँछौं, योजनाको सम्पूर्ण विवरण र उपलब्धीहरु राख्छौ ।’

साथै एप्लिकेशनमा सबै जनप्रतिनीधिहरुको बारेमा जानकारी र सम्पर्क नम्बरसमेत राखिने उनले जानकारी दिए ।

गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने एपलाई एप्पलको आइफोनमा समेत डाउनलोड गर्न सकिने गरी तयार पार्न लागिएको छ । प्रदेश नं २ मै यो नौलो प्रयोग भएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताएका छन् ।

यसै गरी वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका लागि ५० वटा मोबाइल ट्वाइलेटको व्यवस्था गर्ने भएको छ । नगरमा सार्वजनिक शौचालय प्रयाप्त नभएका कारण वीरगञ्जमा सर्वसाधरणले खुल्ला स्थानमा पिसाब गर्ने गरेका छन् ।

सडककै छेउमा पुरुषहरुले पिसाब फेरिदिँदा दुर्गन्ध आउनुको साथै महिलाहरुलाई आवत जावतमा समस्या हुने गरेको छ ।

५० वटा मोबाइल ट्वाइलेटका लागि सूचना प्रकाशन गरिसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment