Comments Add Comment

तिलोत्तमामा सुरु भयो पूर्ण सरसफाइ अभियान

२२ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ को नारालाई सार्थक बनाउन पूर्ण सरसफाइ अभियान सुरु भएको हो ।

पूर्ण सरसफाइ अभियान अन्तर्गत् पहिलो चरणमा झण्डै ११ हजार डष्टबिन वितरण गरिने छ । उपभोक्तालाई कुहिने र नकुहिने फोहोर संकलन गर्न दुई/दुई थान डष्टबिन वितरण सुरु गरिएको छ ।

अभियानको शुक्रबार मणिग्राममा प्रदेश नं.५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरेे । आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नगरपालिकासँगको सहकार्यमा अभियान सुरु गरेको हो ।

हाल नगरपालिकाका वडा नं. १, ३, ४, ५, ६, ८ र ९ का पाँच हजार पाँच सय सात जना उपभोक्ताले धारा जडान गरेका छन् । धारा जडान गरेका यिनै उपभोक्तालाई संस्थाले डष्टबिन वितरण सुरु गरेको हो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अन्य खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको सहकार्यमा नगरका अन्य वडाहरुमा पनि क्रमशः पूर्ण सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए ।

उपभोक्तालाई वितरण गरिएको रातो डष्टबिनमा सड्ने र निलोमा नसड्ने फोहोर राख्नुपर्ने नियम संस्थाले बनाएको छ । अभियान कार्यान्वयनका लागि संस्थाले पूर्ण सरसफाइ कार्यान्वयन कार्यविधि जारी गरेको छ ।

कार्यविधिमा पूर्ण सरसफाइ अभियानमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र लापरवाही गर्नेलाई जरिवानको व्यवस्था समेत गरिएको छ ।अभियानका अध्यक्ष केशवराज न्यौपानेले दुई वर्षभित्र नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।

उपभोक्तालाई पूर्ण सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी जानकारी गराउन प्रत्येक सेवा क्षेत्रमा पूर्ण सरसफाइ कार्यान्वयन समिति रहने उनले बताए ।

उपभोक्ताले घरमा डष्टबिनमा राखेको फोहोरलाई नगरपालिकाको गाडीले उठाएर लैजाने व्यवस्था मिलाएको अध्यक्ष न्यौपानेले बताए ।

पूर्ण सरसफाइ अभियान शुभारम्भ गर्दै प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा तिलोत्तमाले सुरु गरेको अभियान अन्य नगरपालिकाका लागि पनि सिकाइ हुने उल्लेख गरे ।

नगर प्रमुख बासुदेव घिमिरेले स्रोतबाटै फोहोरको वर्गिकरणले व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तिलोत्तमा नगरपालिकामा फोहोरको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापनका बारेमा छलफल भैरहेको बताए । पूर्ण सरसफाइ अभियान नगरका अन्य वडाहरुमा समेत क्रमशः सञ्चालन गरिने जानकारी उनले बताए ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख बासुदेव पौडेलले जिल्लामै पहिलोपटक तिलोत्तमाले पूर्णसरसफाइ अभियानलाई कार्यान्वयनको चरणमा ल्याएको बताए ।

पूर्ण सरसफाइ अभियान सुभारम्भको अवसरमा केही उपभोक्ता, विद्यालय, अस्पताललाई पनि डष्टबिन वितरण गरिएको छ । अन्य उपभोक्ताहरुलाई क्रमशः वितरण गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment