Comments Add Comment

किन असुरक्षित हुँदैछन् बालबालिका ?

– उमेरले ११ बर्षका, कक्षा ६ मा पढ्दै गरेका निशान खड्काको अपहरणपछि घाँटी थिचेर हत्या भयो । काठमाडौंको काँडाघारीमा खाजाघर सञ्चालन गर्ने चमेली खड्काकी छोरालाई सोही खाजाघरमा आउजाउ गरिरहने गोपाल तामाङ र अजय तामाङले अपहरण गरे । फिरौती रकम माग गरे । तर, बच्चालाई सकुशल उद्वार गर्न सकिएन ।

– १३ बषिर्य किशोरी निर्मला पन्तको अर्धनग्न शव उखुबारीभित्र भेटियो । कञ्चनपुर, महेन्द्रनगरकी निर्मलालाई बलात्कारपछि हत्या गरिएको खुल्यो । उनी साथीकहाँ पढ्नका लागि भन्दै गएकी थिइन् ।

– रौतहटको कटहरिया, डुमरिया टोलका १२ बषिर्य शनिलदेव भन्ने युवराज शाहको अपहरणपछि गोली प्रहार गरी हत्या गरियो । बालकको घरभन्दा १५ किलोमिटर टाढा रहेका गढिमाईस्थित बाग्मती नदी किनारमा पुर्‍याएर बालकको हत्या भएको थियो । बालकका बुबा चिकित्सक थिए, उनलाई अपहरणकारीले एक करोड फिरौती मागेका थिए ।

यी केही प्रतिनिधी घटना हुन्, जसले बालबालिका कति असुरक्षित छन् भन्ने कुरा उदाङ्गो पार्छ ।

वास्तवमा चिनेजानेकै वा आफुले विश्वास गरेकै मान्छेबाट घात हुनसक्छ, जसप्रति हामी खास चनाखो हुँदैनौं । सर्तक हुँदैनौं । तर, अहिलेसम्म देखिएको घटना-विवरणबाट के स्पष्ट हुन्छ भने, अपराधी हाम्रै वरीपरी हुन्छन् । त्यसलाई हामी पहिचान गर्दैर्नौं । उनीहरुको नियतमाथि कुनै पनि प्रश्न उठाउँदैनौं । जब उनीहरुको नियत थाहा हुन्छ, त्यसबेला हामी संकटको घेरावन्दीमा फसिसकेका हुन्छौं ।

चौतर्फी असुरक्षित

अहिले हाम्रो दैनिकी कसरी चलिरहेको छ ? समाज कसरी रुपान्तरण हुँदैछ ? युवाहरुको महत्वकांक्षा कसरी बढेर गइरहेको छ ?

यी कुरामा हामी खास घोत्लिने गरेका छैनौं । एकातिर हामी आफ्नो कामधन्दामा मग्न छौं । अर्कोतिर छोटो बाटोबाट धेरै पैसा कमाउने मनोवृत्ति हुर्कदैछ । प्रतिस्पर्धाको यो दौडमा श्रम, मेहनतको बलमा पैसा आर्जन गर्ने बाटो कतिलाई लम्बेतान लाग्न थालेको छ । छिटो र छरितो ढंगले पैसा कमाउने ‘आइडिया’ खोज्दै युवाहरु भौतारिरहेका छन् । त्यही भिडमा यस्ता दुषित मानसिकता बोकेर हिँड्नेहरु पनि छन्, जोसँग साना बच्चामाथि यौनजन्य कृत्य राख्ने मनोकांक्षा छ ।

यता आमाबुबालाई छोराछोरीसँग समय विताउने फुर्सद छैन । उनीहरु छोराछोरी कहाँ जान्छन्, के गर्छन् भनेर रेखदेख गर्न असमर्थ छन् । यस्तो अवस्थामा आपराधिक मनोवृत्ति पालेकाहरुलाई सजिलो भएको छ, आफ्नो काम फत्ते गर्नका लागि । उनीहरुले खासगरी बालबालिकालाई आफ्नो जालोमा फसाउने गरेका छन् । बालबालिकालाई प्रयोग गरेर यौनप्यास मेट्नेदेखि पैसा आर्जन गर्नेसम्मको कृत्य गर्न उनीहरु उद्दत छन् ।

अब के गर्ने त ?

हामी एकातिर के भनिरहेका छौं भने, बालबालिकालाई खुला छाड्नुपर्छ । अर्कोतिर, बालबालिकालाई अभिभावकले रेखदेख गरेन ।

अभिभावकको पनि आफ्नै वाध्यता छन् । उनीहरु दैनिक गुजाराका लागि आ-आफ्नो काममा व्यस्त छन् । त्यही कारण छोराछोरीलाई निगरानी गरेर वा उनीहरुको पछि लागेर बस्न सक्दैनन् ।

बिहान खाजा, खाना ख्वाएर, लुगाफाटो लगाइदिएर विद्यालय पठाइदिन्छन् । विद्यालय पुगेपछि पढ्छन्, लेख्छन्, जान्ने हुन्छन् भन्ने विश्वास हुन्छन् । आफ्ना छोराछोरी सुरक्षित भन्ने लाग्छ । बालबालिका विद्यालय सकाएर अपरान्ह घर र्फकन्छन् । घर फर्केपछि होमवर्क गर्छन्, खेल्छन् । आमाबुबाले यतिबेला उनीहरुलाई खुला छाडिदिन्छन् ।

ठिक यही मौकामा बालबालिका अपहरित हुन सक्छन् । बलात्कृत हुनसक्छन् । तर, घरभित्र वा विद्यालयमा पनि बालबालिका सुरक्षित छ भन्ने भ्रम त्याग्नुपर्छ । बालबालिकाहरुमाथि विद्यालयमा पनि विभिन्न किसिमको हिंसा हुनेगर्छ । उनीहरुमाथि नियतवस् ढंगले नराम्रा व्यवहार हुन्छन् । बेलाबखत यस्ता घटना सतहमा आउने गरेको छ । दोलखाको एक विद्यालयमा शिक्षकको पिटाइबाट विद्यार्थीको ज्यान गएको घटना पनि धेरै पुरानो भएको छैन । कतिपय बालिकामाथि शिक्षकहरुले यौनजन्य दुव्र्यवहार गरेको घटना पनि छन् ।

यसको अर्थ के भने, बालबालिका चारैतिर असुरक्षित छन् । अब उनीहरुलाई कसरी सुरक्षा प्रदान गर्ने ? अभिभावक उनीहरुको सुरक्षालाई लिएर कसरी ढुक्क हुने त ?

अभिभावक सर्तक हुनुपर्छ

आफ्नो बच्चाको ख्याल राखौं । उनीहरु कहाँ गएका छन्, कोसँग गएका छन्, किन गएका छन् ? यावत् कुरामा निगरानी राखौं । निश्चय पनि बालबालिकालाई खुला रुपमा खेल्न छाड्नुपर्छ । यसको मतलब यो होइन कि, उनीहरुको वास्तै नगरौं । उनीहरुमाथि निगरानी राख्नुपर्छ । आफ्नो बच्चा कहाँ जान्छ, के गर्छ भन्ने कुरामा अभिभावक बेखबर भएर हुँदैन ।

कहाँ खेल्छ, कतिबेर खेल्छ भन्ने कुरा याद गर्नुपर्छ । निश्चित समयमा उनीहरु र्फकन्छन् वा र्फकदैनन् ? ख्याल गर्नुपर्छ । साथै उनीहरुका लागि खेल्ने समय पनि निर्धारण गरिदिनुपर्छ । कति समय खेल्ने र घर र्फकने भन्ने कुराको टुंगो गर्नुपर्छ ।

आफुले चिनेजानेको मान्छे भएपनि उनीहरुको नियत कस्तो छ भनेर थाहा पाउन सकिदैन । जो पायो त्यही मान्छेसँग घुमफिर गर्न पठाउने, धेरै निकट हुन दिने जस्तो भुल नगरौं । चिनेजानेकै मान्छेले आफुलाई फन्दामा पार्न सक्छन् ।

आफ्नो बच्चालाई पनि सर्तक गराउनुपर्छ । कसैले कतै जाउँ भन्नसथा खुरुखुरु हिँड्ने होइन, अभिभावकलाई सोध्ने वा अनुमति लिने अभ्यास गराउनुपर्छ । कसैले दिएको खानेकुरा क्वापक्वाप खाने होइन, अभिभावकलाई सोधेर मात्र खाने बानी गराउनुपर्छ ।

अभिभावकभन्दा टाढा जानु परेमा विश्वासिलो मान्छेको मात्र साथ लाग्न सिकाउनुपर्छ ।

साथै कतिपय अवस्थामा उनीहरुलाई सुरक्षात्मक अवस्थामा रहनका लागि सर्तक गराउनुपर्छ । कसैले फकाई-फुल्याई गरेमा के गर्ने ? कसैले कुनै खानेकुरा दिएमा के गर्ने ? कसैले जबरजस्ती समात्न खोजेमा के गर्ने भन्ने जस्ता कुरा अभिभावकले सिकाउनुपर्छ । अब त विद्यालयले पनि यस्तो दायित्व निर्वाह गर्नुपर्ने अवस्था छ । बालबालिकालाई कसरी रक्षत्मक रुपमा उभिने भन्ने कुराको पूर्व तयारी गराउनु आवश्यक छ ।

खासगरी शहरीय बालबालिकालाई एक्लै घरमा नछाड्ने, भरपर्दो व्यक्तिवाहेक अरुको साथमा हिँड्न नदिने, रेखदेख गर्न नसकिने ठाउँमा खेल्न पठाउने जस्ता गल्ती अभिभावकले गर्नु हुँदैन । जब गल्ती गरिन्छ, त्यसबेला गल्ती सुधार्ने समय पनि आफुसँग नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment