Comments Add Comment

एक पैसा भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिन्छुः चौरसिया

२६ भदौ, वीरगञ्ज । पर्साको पकहामैनपुर गाँउपालिकाका अध्यक्ष बिजय चौरसियाले आफूले एक पैसा भ्रष्टाचार नगरेको दावी गरेका छन् । भ्रष्टाचार गरेको प्रमाणित भए आफूले राजीनामा दिने उनले बताए ।

पत्रकार सम्मेलन गरी अध्यक्ष चौरसियाले वजेट चलाउन नदिएको निहुँमा केही नेता कार्यकर्ताहरुले उपाध्यक्ष कुशमी देवीलाई उचालेर आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका हुन् ।

‘जति पैसा आएको छ विकास निर्माणकै काममा खर्च भएको छ । मैले कसैसँग कमिशन लिएको छैन । एक पैसा भ्रष्टाचार गरेको छैन,’ उनले भने, ‘बिरोधीहरुले उपाध्यक्ष ज्यूलाई उचालेर मेरो विरुद्ध षडयन्त्र रचेका हुन् । गाउँमा विजय चौरसियाले दुई करोड भ्रष्टाचार भयो भन्ने परेको छ । उस्तै मान्छे भएको भए हर्ट अट्याक हुन बेर लाग्दैनथ्यो ।’

निराधार र कपोकल्पित शीर्षकहरुमा बढी रकम देखाएर बिरोधीहरुले भ्रम छरेको आरोप उनको छ । अध्यक्ष चौरसियाले परिषदमा बहुमत सदस्य सहभागी भएर हस्ताक्षरसमेत गरेको जानकारी गराए ।

प्राबिधिक कारणले एम्बुलेन्स मर्मत गर्न नसकिएको भन्दै उनले त्यसमा आफ्नो कमजोरी भएको पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए । ‘विभिन्न प्राविधिक कारणले एम्बुलेन्स मर्मत हुन सकेको छैन । इन्जिन बनाउनुछ छुट्टै ठाउँमा बनाउनुछ, पेन्ट गर्नुछ, चक्का फेर्नुछ,’ उनले भने, ‘तीन महिनाअघि मर्मतका लागि पठाएका छौं । धेरै खर्च छ त्यसमा तर अब छिट्टै एम्बुलेन्स तयार हुन्छ ।’

न्यायिक समिति गठन भइसकेको बताउँदै उनले उपाध्यक्ष कुसुमीदेवीलाई उचालेर केही व्यक्तिले फाइदा लिन खोजेको बताए । ‘न्यायिक समिति गठन गरिसकेका छौं, उनलाई मानिसहरुले चढाएर के के कुरा गर्न लगाएका छन्,’ उनले भने, ‘न्यायिक समिति चाहिँदैन भनेर मैले भनेको छैन, आवश्यक कर्मचारीको प्रबन्ध गर्ने वाचासमेत गरेको छु ।’

पत्रकार सम्मेलनमा बोल्दै वडा १ का अध्यक्ष अम्बिका सहनीले गाउँमा जुनसुकै पार्टीको भएपनि मिलाएर विकासको काम गर्ने लक्ष्य राखेर काम गरिएको बताए ।

उनले गाउँमा नमूना विकासका कामहरु भएको दावी गर्दै पत्रकारहरुलाई आएर अवलोकन गर्न भने । ‘ गाउँमा आएर विकासको काम हेर्नुस, आरसीसी ढलान गरेर सडक बनाएका छौं,’ उनले भने, ‘अन्त कतै नभएको विकास हाम्रो गाउँमा भएको छ ।’

गत भदौं २२ गते उपाध्यक्ष कुसुमीदेवीलगायत केही जनप्रतिनीधि र राजनीतक अगुवाहरुले गाउँपालिकाको वजेट सार्वजनिक नगरेको र व्यापक अनियमितता भएको दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment