Comments Add Comment

संविधान दिवसको दिन राजपाले ५ प्रदेशमा विरोधसभा गर्ने

२८ भदौ, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज ३ गते संविधान दिवसका दिन पाँच वटा प्रदेशमा विरोध प्रदर्शन गर्ने जनाएको छ । उसले प्रदेश ३ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा विरोध सभा गर्ने जनाएको छ ।

विरोध सभाहरुमा भाग लिन अध्यक्ष मण्डलका सदस्यहरुलाई विभिन्न ठाउँमा खटाएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ को बारा र पर्सामा आयोजना गरिने विरोध कार्यक्रममा सम्बोधन गर्नेछन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो प्रदेश ५ को बाँके र बर्दिया, अनिल झा प्रदेश ७ को कैलाली र कञ्चनपुरमा हुने विरोध सभामा सहभागी हुने भएका छन् । त्यस्तै महेन्द्र राय यादव प्रदेश ५ को नवलपरासी, रुपन्देही र कपिलवस्तुमा, शरदसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव मोरङ र सुनसरीको विरोधसभामा सहभागी हुने राजपाले निर्णय गरेको छ ।

प्रदेश २ को अन्य जिल्लामा भने प्रदेश २ सरकारका मन्त्रीहरुले सम्बोधन गर्नेछन् । जस अनुसार सप्तरीमा भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनल, सिरहामा वन तथा पर्यटन मन्त्री रामनरेश राय, धनुषामा सामाजिक विकास मन्त्री नवलकिशोर साह, महोत्तरीमा राज्य मन्त्री डिम्पल झा, सर्लाहीमा राज्य मन्त्री अभिराम शर्मा र रौतहटमा राज्य मन्त्री सुरेश मण्डलले सम्बोधन गर्ने भएका छन् ।

पार्टी छाडेकालाई फर्किन आग्रह

राजपा नेपालका अध्यक्ष मण्डलको भदौ २५ देखि २८ गतेसम्म बसेको बैठकले राजपाबाट अलग भएकाहरुलाई फर्किन आग्रह गरेको छ ।

‘विविध कारणवश राजपा नेपालबाट अलग भएका वा रहेका नेता, कार्यकर्तालाई राजपामा फर्किन आग्रह गरिन्छ’ बैठकपछि राजपाका अध्यक्ष मण्डली संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment