Comments Add Comment

लमजुङका बाढीपीडितलाई घरदैलोमै राहत

३१ भदौ, लमजुङ । लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत परिवार वितरण गरिएको छ । बाढी पहिरोमा परी मृत्यु भएका मर्स्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई राहत वितरण गरिएको हो ।

बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मर्स्याङ्दी गाउँपालिकाबाट जनही ५० हजार रुपैयाँ प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । ‘प्रतिकूल मौसम, ठाउँ ठाउँमा सडक अवरूद्ध भएको अवस्थामा समेत पीडितको घर आँगनमा समयमा नै राहत पुर्‍याइएको छ,’ प्रजिअ ढकालले भने ।

बाढी पहिरोले घर बगाएका पीडित परिवारलाई प्रतिघर ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय र मर्स्याङ्दी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत् आयोजनाबाट प्रतिपरिवार ३० किलोका दरले चामल, चार किलोका दरले दाल, एक लिटरका दरले तेल र एक किलोका दरले नून वितरण गरिएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशीलगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडाको सेटसहितको गैरखाद्य सामग्रीको राहतस्वरुप वितरण गरिएको छ ।

राहत वितरणसँगै अवरुद्ध लमजुङ–मनाङ सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट प्रयास तीव्र पारिएको प्रजिअ ढकालले जानकारी दिए ।

राहत वितरणसँगै अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारिएकोमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ जसबाट बेँशीशहरदेखि ङादीसम्म सडक खुलेको छ । बेँशीशहर-चामे सडक खण्डको रामबजारबाट उत्तरतर्फको अवरुद्ध सडकसमेत खुलिसकेको छ ।

शनिबार ङादीदेखि अर्खलेतर्फको सडक खुलाउने प्रयास भइरहेको छ । प्रशासनले उत्तरी क्षेत्रमा वि.पी.सी.द्धारा प्रवर्द्धित विद्युत आयोजनाको मेशिन उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभिर काभ्रेभिर हुँदै अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

अर्खलेबेशी नजिकको खोलामा ठूलो ढुंगाले सडक अवरुद्ध गरी निर्माणका लागि माथितर्फ लैजानुपर्ने मेशिन लैजान नसकिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । विष्फोट गराई उक्त ढुंगा फोर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment