Comments Add Comment

बक्स अफिस त लाग्यो, तर वितरक र निर्माता सुध्रिएनन्

काठमाण्डौमा साउन १ गतेबाट बक्स अफिस लागेको छ । काठमाण्डौ बाहिरका हलमा माघ १ गतेबाट बक्स अफिस लाग्ने बताइएको छ ।
बक्स अफिस नलाग्दासम्म निर्माताहरुले आफू चुरोटे खोलमा आउने हिसाबका कारण ठगिएको भन्दै ठूलै आवाज उठाए । चलचित्र निर्माता संघले त बक्स अफिसलाई नै मुख्य मुद्दा बनाएर चलचित्र प्रदर्शन नै रोक्ने तयारी गर्‍यो ।

यी सबै कुराको बाबजुत सरकारले नै बजेटमा बक्स अफिसलाई पारेपछि यसले फास्ट ट्रायकको बाटो समात्यो । अहिले काठमाण्डौका अधिकांश हल बक्स अफिस प्रणालीमा जडित छन् ।

तर, साउन १ गतेबाट बक्स अफिस लागेपनि न त निर्माताले न त वितरकले नै पूर्ण बक्स आँकडा चाहेको समयमा हेर्न पाएका छन् । सोझो भाषामा भन्नुपर्दा, बक्स अफिस नेपाली चलचित्रका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने अवस्थामा छ ।

कुनै पनि व्यवस्था लागू भएर मात्र हुँदैन । त्यसलाई पालना गर्ने मानिसमा सत्यता हुनपर्छ । तर, नेपाली चलचित्रका वितरक र निर्मातामा नदेखिएको यही सत्यताले यतिबेला बक्स अफिसको औचित्यमाथि प्रश्न उठेको छ ।

शनिबार मात्र गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘रोज’का काठमाण्डौ र काठमाण्डौ बाहिरका वितरक गोविन्द शाही र मनोज राठीको भनाइलाई आधार मान्दै यसको कलेक्शन सार्वजनिक गरियो ।

सार्वजनिक गरिएको कलेक्शन सुन्दा जो कोहीलाई पनि हाँस्यास्पद लाग्छ । दुई वितरकले ‘रोज’ले एक सातामा अर्थात बिहिबारसम्म देशभरबाट २ करोड ७६ लाखको कारोबार गरेको विवरण पठाएका छन् ।

यो चलचित्रले २ करोड ७६ लाखको व्यापार गर्ने आधार हलमा मान्छेको चाप हेर्दा सोझै यी दुई वितरकले मिडिया र अन्य चलचित्रकर्मीलाई अध्यारोमा राख्न खोजेको पक्का छ ।

बक्स अफिसमा कलेक्शन भएको रिपोर्ट अनुसार काठमाण्डौमा दोश्रो शनिबारसम्म चलचित्र ‘रोज’को व्यापार ६५ लाख ग्रस कलेक्शनमा छ भने चलचित्र ‘रामकहानी’को १ करोड ग्रस कलेक्शनमा छ ।

अहिले मल्टिप्लेक्सको व्यापार वुझ्न वितरक र निर्माताकै भर पर्नुपर्दैन । सिंगल हलमा पनि मानिसको चापले व्यापार कति भयो भन्ने स्पष्ट थाहा हुन्छ । एक सातामा २ करोड ७६ लाख कमाउन एउटा चलचित्रमा कस्तो भीड लाग्नुपर्छ भन्ने जो कोहीले पनि सजिलै वुझिदिन्छन् ।

गोविन्द र मनोजको यो आँकडाले बक्स अफिसको धज्जी उडाएको छ या छैन ? किनकी, चलचित्र संघले नै केही समय अगाडि आफ्ना वितरकहरुलाई सही हिसाब दिनका लागि निर्देशन दिएको थियो । तर, यहाँ त संघका सदस्यहरुले नै उसको निर्देशनको धज्जी उडाइरहेका छन् ।

बक्स अफिस त लागू भयो तर निर्माता र वितरक सुधि्र ने छाँटकाट देखिएको छैन । केही दिन अगाडि काठमाणडौको कुमारी हलमा भेटिएका वितरक गोविन्द शाहीले बक्स अफिस लागू भएपछि निर्माताहरु मर्कामा परेको कुरा गरेका थिए । अधिकांश निर्माता प्यान कार्डमा रहेको र अहिले कम्पनी भ्याटमा दर्ता गर्दा निर्माताको विल्लीवाठ हुने अवस्था आएको उनको भनाई थियो ।

बक्स अफिस लागू भएपछि रिलिज भएका चलचित्रहरुमा ‘नाई नभन्नु ल ५’को व्यापार सुखद छ । ‘रोज’सँगै रिलिज भएको चलचित्र ‘रामकहानी’ नेपालबाट लगानी उठाउन संघर्षरत छ ।

यी बाहेक साउन ४ गते रिलिज भएको ‘भैरेदेखि भदौ २९ गते रिलिज भएको साली कस्को भेनाको’ चलचित्रसम्म आइपुग्दा अधिकांश चलचित्रको व्यापारिक रिपोर्ट दयनिय छ । तर, धेरै निर्माताले करोड क्लबमा चलचित्र पुगेको भन्दै केक काटेर सेलिव्रेशन गरिसकेका छन् ।

निर्माता, वितरक, प्रदर्शक स्वच्छ नहुने हो भने मिडियामा आउने बक्स अफिस रिपोर्ट सधै नै यस्तै झुटो खालको हुन्छ । यो प्रणाली सही तरिकाले लागू गराउन सकेको खण्डमा फाइदा सबैलाई हो । तर, यस्ता हावाका रिपोर्ट सार्वजनिक गर्दै मनको लड्डु घ्यूसँग खाने हो भने बक्स अफिस लागू भएर नेपाली चलचित्र क्षेत्रले चमत्कारिक फड्को मार्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment