Comments Add Comment

नारायणी अस्पतालमा १० दिनदेखि एक्स-रे सेवा बन्द

१ असोज, वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १० दिनदेखि एक्स-रे मेशिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् ।
अस्पतालबाट एक्स-रे सेवा नपाएका कारण विरामीहरु चर्को मुल्यमा बाहिर एक्स-रे गराउन बाध्य भएका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालले एक्स-रेका लागि ३ सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ भने निजी स्वास्थ्य संस्थामा ४ सय रुपैयाँ लिने गरेका छन् ।

अस्पतालमा एक्स-रे गर्न नपाउँदा ५० रुपैयाँ बढी खर्च भइरहेको गुनासो विरामीहरुले गरेका छन् भने अस्पतालले पनि दैनिक ५० हजार भन्दा बढी शुल्क गुमाइरहेको छ । अस्पतालमा दैनिक १ सय ५० भन्दा बढी एक्स-रे हुने तथ्याङ्क छ ।

अनलाइन युपिएसमा समस्या आएकोले एक्स-रे सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका रेडियोग्राफी अधिकृत प्रदीप साहले जानकारी दिए । ‘अनलाइन युपिएसमा समस्या आएको झण्डै १० दिन भइसक्यो, दुई जना मिस्त्रीले लगेर फिर्ता ल्याए, एक जनाले बनाएर ल्याएको भनेका थिए, तर चलेन,’ उनले भने, ‘बोर्डमा समस्या छ फेर्नुपर्छ भनेका छन्, वीरगञ्जमा पाइएन, आज विश्वकर्मा पुजाको काम हुन सकेन । भोलि जसरी पनि बनाउँछु भनेका छन् ।’

त्यसैगरी अस्पतालको प्रयोगशालामा रहेको किड्नी सम्बन्धि युरिया र क्रिटी नाईन टेष्ट गर्ने मेशिन पनि विगि्रएको छ । जसले गर्दा विरामीहरुलाई थप मर्का परिरहेको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकले भने अस्पतालमा आउने प्राविधिक समस्या समाधानका लागि प्रयास भईरहेको बताएका छन् । ‘डाइरेक्ट लाइनबाट एक्स-रे मेशिन चलाउँदा प्रोग्राम उड्ने समस्या देखियो ।’ उनले भने ‘युपिएस मर्मतका लागि पठाएका छौं । छिट्टै सेवा सुचारु हुन्छ ।’

युरिया र क्र्याटिनाईन टेष्ट गर्ने मेशिन भने कम्पनीबाटै मान्छे बोलाएर बनाउने गरिएकोले समय लाग्ने उनको भनाई छ । ‘मेशिन बिग्रेको छ, बनाउन पहल गरिरहेका छौं,’ मेसु हकले भने, ‘कम्पनीबाटै मानिस बोलाएर बनाउने गरेकोले केही दिन लाग्न सक्छ ।’

जसले गर्दा विरामीहरुको डायलासिस सेवा नै प्रभावित भइरहेको छ । प्रयोगशालामा आवश्यक पर्ने विभिन्न केमिकलहरु समयमा नआउँदा पनि सेवा प्रभावित हुने गरेको अस्पतालका कर्मचारीहरुले नै बताएका छन् ।

ईसीजी बिग्रिएको हल्लाले बिरामी बाहिर

अस्पतालको विभिन्न वार्डमा ईसिजी रहेको भएपनि ईसिजी बिग्रिएको हल्ला चलेपछि बिरामीलाई ईसीजी गर्न बाहिर पठाइएको छ ।

अस्पतालको ओपीडि वार्डको ईसिजी मात्रै बिग्रिएको भएपनि ईसीजी बिगि्रएको हल्ला चलेपछि विरामीहरु जाँचका लागि अस्पताल बाहिर गएका थिए ।

अस्पतालको इर्मजेन्सी, आईसीयु लगायतका विभिन्न वार्डमा ईसीजी मेशिन हुने भएपनि त्यसलाई प्रयोग नगरी विरामीलाई बाहिर पठाइएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हकले भने ईसीजी बिग्रिएको बारे जानकारी नै नगराएकोले त्यसो हुन गएको बताए । ‘मलाई त्यसको जानकारी नै भएन, नत्र विरामीलाई अर्को वार्डमा पठाईन्थ्यो,’ उनले भने ‘ स्टोरमा पनि एक्स्ट्रा मेशिन रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment