+
+
Shares

खरेल-थन्किएका जहाज उडाउँछु, सुगत- चरा ठोकिएपछि के लाग्छ !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ०:०१

१ असोज, काठमाडौं । नेपाल वायु सेवा निगममा सरकारले सुगतरत्न कंशाकारलाई झस्काउने गरी नयाँ नेतृत्व ल्याएको छ । निगमको कार्यकारी अध्यक्षमा पूर्वमहाप्रवन्धक मदन खरेललाई ल्याइएपछि बहालवाला महाप्रवन्धक कंशाकारले राजीनामा दिन सक्ने अनुमान सरकारी पक्षको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली महाप्रवन्त्रक कंशाकारलाई हटाउन चाहन्थे । विमान खरिदमा आर्थिक अनियमितता गरेको र किनिएका जहाजहरु उडाउन नसकेको आरोपमा कंशाकारलाई हटाउने प्रधानमन्त्रीको ईच्छा भए पनि उनी अदालत जान सक्ने देखेपछि सरकारले महाप्रवन्धकको अधिकारलाई खुम्च्याउने गरी कार्यकारी अध्यक्षमा खरेललाई ल्याएको हो ।

तर, खरेल कार्यकारी अध्यक्ष बनेपछि कंशाकारले राजीनामा नदिने बताएका छन् । उनले खरेलसँग सहकार्य गरे अघि बढ्ने अनलाइनखबरलाई बताएका छन् । नवनियुक्त कार्यकारी अध्यक्ष खरेलले पनि सुगतसँग मिलेर अघि बढ्ने बताएका छन् ।

थन्किएका विमान उठाउँछु, संस्थालाई नाफामा पुर्‍याउँछुः खरेल

निगमका नवनियुक्त कार्यकारी अध्यक्ष खरेलले थन्किएका विमानहरु उडाउने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सदुपयोग हुन नसकेका निगमका सबै स्रोत साधनलाई सही ढंगले प्रयोगमा ल्याउने बताए ।

निगमले चीनबाट ल्याएका धेरै विमानहरु अहिले ग्राउण्डेड छन् । चिनियाँ विमान उडानका लागि पाइलट नै नपाएपछि निगमका अधिकांश चिनियाँ जहाजहरु उड्न सकेका छैनन् । प्राविधिक समस्याका कारण हाल निगमका ३ वटै टि्वनअर्टर पनि उड्न सकेका छैनन् ।

नवनियुक्त अध्यक्ष खरेलले आफ्नो पहिलो उद्देश्य भनेकै निगमलाई समृद्धितिर लैजाने रहेको बताए ।

‘संस्थाको अहिलेको अवस्था के छ भनेर मैले हेर्न बाँकी नै छ । पहिला त्यसलाई नै हेर्छु । त्यसअनुसार नै रणनीति बनाउँछु,’ खरेलले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘उपयुक्त र आवश्यक योजनाले नै संस्थालाई अघि बढाउँदै लैजाने हो । अहिले समान्यतया भन्दा निगमका सदुपयोग हुन नसकेका विमानहरुलाई प्रयोगमा ल्याउने नै उद्देश्य छ ।’

नेपाल वायु सेवा निगमले अब नयाँ गन्तव्यहरुको विस्तारतर्फ पनि ध्यान दिने खरेलले बताए । उनले सम्भाव्य उडान गन्तव्यहरुमा निगमले व्यवसायिक योजना बनाएर उडान थाल्ने बताए ।

‘निगमको क्षमताअनुसार नयाँ रुटहरुमा जाने कुरा पनि छन् । उडान संख्या र गन्तब्य विस्तारका लागि पनि काम गर्छु । व्यवसायिक क्षमतमा वृद्धिका लागि हामीले काम गर्ने हो,’ उनले भने, ‘सबै काम एकाएक त हुन सक्दैनन् । तर, समयक्रमले माग गरेअनुसार निगमलाई सेवामुखी र नाफामूलक संस्थाकै रुपमा अघि बढाउने हो ।’

आइतबार मन्त्रिपरिषदको बैठकबाट निगमका कार्यकारी अध्यक्ष बनेका खरेलले निगमले अन्तर्राष्ट्रिजत्तिकै आन्तरिक उडानलाई पनि ध्यानमा राख्ने बताए । अहिले निगमले आन्तरिक उडानमा खासै चासो दिएको छैन ।

‘हामी आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुबैमा समामान्तर रुपमा केन्द्रित हुन्छौं । ठ्याक्कै यति समयभित्र यतिवटा विमान थप्छु र संस्थालाई यहाँबाट यहाँ पुर्‍याउँछु भन्ने नभए पनि परिस्थिति र समयअनुसार संस्थालाई अपग्रेड गर्दै सफल संस्थानमा रुपमा स्थापित गर्ने मेरो लक्ष्य छ,’ उनले भने, ‘आवश्यकतामा आधारित भएर केही ब्रेक-थ्रु हुन पनि सक्छ । तर, त्यो एकाएक हुने हैन । ‘

खरेलले विमान थप्ने मात्रै नभएर आन्तरिकरुपमा संस्थामा रहेका अनेकन समस्यालाई सम्बोधन पनि गर्ने बताए ।

अहिले निगम त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यालिङबाट हुने आयामा बढी निर्भर छ । यदि ग्राउण्ड ह्यान्डलिङ खोसियो भने निगम घाटामा जाने अवस्था छ ।

‘वायुसेवा कम्पनी कुनै सरकारी सुविधाका भरमा मात्रै चल्नुहुँदैन । विमान उडाएरै वायुसेवा कम्पनीले सफलता प्राप्त गर्ने हो । त्यसैले निगमलाई विमान उडाएर गरी खानसक्ने कम्पनी बनाउन मेरो प्रयत्न हुन्छ,’ उनले सुनाए, ‘संस्थाको समग्र व्यवस्थापनमा सुधार गर्दै क्षमता अभिृद्धि गर्ने गरी काम हुन्छ ।’

संस्थामा महाप्रवन्धकका रुपमा सगतरत्न कंशाकारलाई कायमै राखेर कार्यकारी अध्यक्षमा खरेल आएका छन् । यसका कारणबाट आन्तरिक रुपमा द्वन्द्व सिर्जना भएर संस्था झनै धरासायी हुने हो कि भन्ने अनलाइनखबरको प्रश्नमा खरेलले त्यसलाई नकारे ।

‘संस्थामा कार्यकारी को हो भन्ने प्रश्न ठूलो होजस्तो मलाई लाग्दैन । सुगतरत्नजी पनि निकै लामो समयदेखि निगमको राम्रो व्यवस्थापकका रुपमा हुनुहुन्छ,’ खरेलले भने, ‘हामी सबैले संस्थाको हितका लागि काम गर्ने हो । संस्थालाई सफल बनाउने हो । त्यसैले एउटै उद्देश्य राखेर अघि बढ्दा हामीबीच उपयुक्त तालमेल र समझदारी हुनेछ ।’

सुगत भन्छन्- चरा ठोक्किएपछि कसको के लााग्छ !

यसैवीच नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कशांकारले नयाँ नेतृत्वसँग मिलेरै काम गर्ने बताएका छन् । निगममा सरकारले कार्यकारी अध्यक्षका रुपमा मदन खरेल ल्याएपछि कंशाकारले राजीनामा दिने धेरैको अनुमान थियो । सरकारको पनि अपेक्षा त्यस्तै थियो ।

तर, कंशाकारले आफूले तत्कालै राजीनामा नदिने बताए । ‘नेपाल सरकारको निर्णयको सम्मान गर्छु, मेरो अब ८ महिना कार्यकाल बाँकी छ,’ उनले भने, ‘मलाई अहिलेको अवस्थाले संस्थामा बसेर काम गर्न असहज हुन्छ भन्ने लागेको छैन ।’

८ महिनापछि संस्थालाई आवश्यक पर्ने आवश्यकतालाई ध्यानमा राखेर सरकारले खरेललाई ल्याएको हुन सक्ने उनको अनुमान छ । उनले संस्थाभित्रै अझै धेरै सुधारका काम गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि खरेलसँग सहकार्य हुने बताए ।

‘हामीले पनि प्रयत्न गरिरहेका थियौं । तर, विमान चलाउने भन्ने कुरा प्राविधिक हो । हामीले जति इच्छा राखेर काम गरे पनि चरा ठोक्किएपछि कसको के लााग्छ ?’ कंशाकारले भने, ‘नेतृत्वले प्लान बनाएर काम गर्ने हो, त्यो भइरहेको छ ।’

महाप्रवन्धक कंशाकारले कतिपय अवस्थामा चाहेरै पनि समस्या समाधान गर्न नसकिने बताए । ‘जापान र कोरियाको सरकारबाटै अनुमति नपाएपछि त्यहाँ वाइडबडीमार्फत उडान थाल्न सकिएको छैन,’ उनले भने, ‘तर पनि निगमले प्रयत्न गरिरहेकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?