Comments Add Comment

५ हजार बालिकाको शिक्षा विमाः मुख्यमन्त्री राउत

२ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चालु आर्थिक वर्षको बाँकी १० महिनामा ५ वर्ष मुनीका ५ हजार बालिकाको शिक्षा विमा गरिने बताएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित मदरसा अनवारुल उलुमले आयोजना गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो बताएका हुन् । ‘प्रदेशका सबै बालिकाको विमा गर्ने लक्ष्य हाम्रो हो । तर चालु आर्थिक वर्षमा ५ हजार वालिकाको विमा गराउँछौं’ मुख्य मन्त्री राउतले भने, ‘पहिलो चरणमा दलित, मुस्लिम र विपन्न परिवारका बालिका प्राथमिकतामा राखिनेछ ।’

समाज रुपान्तरणको लागि महिला शिक्षाको महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अघि सारेको उनले बताए ।

मुख्यमन्त्री राउतले यसै वर्ष प्रत्येक जिल्लामा एक/एक हजार साइकल वितरण गर्ने योजना सुनाए ।

प्रदेश २ मा मुस्लिम समुदायको अवस्था दलित भन्दा पनि पछाडि रहेको उल्लेख गर्दै छोरा छोरीलाई समान शिक्षा दिन आग्रह गरे । ‘हाम्रो सोचमा अझै परिवर्तन आउन सकेको छैन । छोरा र छोरीलाई समान व्यवहार गरिँदैन’ उनले भने, ‘यसैले पनि हामी पछाडि परेका छौं, अबको हाम्रो सोच समान शिक्षातर्फ अग्रसर हुनुपर्छ । तब मात्रै समाजलाई अगाडि बढाउन सक्छौं ।’

उनले प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा सहयोग गर्न स्थानीय तहलाई पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment