+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ट्याकंर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १९:५७

४ असोज, काठमाडौं । नेपाल आयल निगमले ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ ।

ट्याङ्कर चालकहरु आन्दोलित भएपछि काठमाडौंका पेट्रोल पम्पमा लाइन देखिन थालेको छ ।

नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले अवरोध गरेपछि उपभोक्तामा हाहाकार मच्चिने त्रास बढेको हो ।

नेपाल आयल निगमका प्रमुख सुशील भट्टराईले आन्दोलनरत पक्षसँग स्थानीय स्तरमा छलफल भइरहेको बताए ।

निगमले पटक पटक ट्याकंर चालकहरुको माग सम्बोधन गरेको भन्दै उनले अहिलेको परिस्थिति निगमले मात्रै समाधान गर्न सक्ने अवस्था नरहेको बताए । ‘आन्दोलनरत पक्षलाई ढुवानी सुचारु गर्न भनिरहेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मान्दै मानेनन् भने भोलिबाट गाडी खोसेर हामी आँफै चलाउँछौ ।’

ट्याकंर चालकहरुले ढुवानी सुरु नगरे भोलिबाट सेना, प्रहरी लगाएर गाडी खोस्ने उनले चेतावनी दिए ।

‘गाडी नचलाउने भए चाबी बुझाए हुन्छ, लाइसेन्स बुझाए हुन्छ, हामीले एक/डेढ सय सरकारी चालक तयारी अवस्थामा राखेका छौं’, उनले भने ।

निगमसँग आफ्नै ट्याकंर नहुँदा समस्या आउने गरेको उनले बताए । ट्याकंर चालकहरुले पटक पटक ढुवानीमा अवरोध गर्ने गरेको भन्दै उनले सेना र प्रहरीलाई ट्याकंरको व्यवस्था गर्न आग्रह गरेको उनले बताए ।

‘सँधै समस्या आउने भयो, २–३ सय ट्याकंर सेना, प्रहरीले राख्नुपर्यो भनिरहेका छौं’, उनले भने ।

सबै ट्याकंर चालकहरु आन्दोलनमा नरहेको भन्दै उनले भने, ‘गाडी चलाउनेलाई पनि रोकेको छ, जुत्ताको माला लगाएको छ, यो के तरिका हो ?’

छलफलबाटै ढुवानी सहज बनाउने प्रयास भईरहेको भन्दै उनले चालकहरुले मान्दै नमाने स्कर्टिङ गरेर पनि आपूर्ति निर्वाध बनाउने बताए । निगमसँग पर्याप्त इन्धन मौज्दात रहेको दाबी गर्दै उनले उपभोक्तामा त्रास बढेकाले पम्पमा लाइन देखिएको बताए ।

काठमाडौंमा दैनिक ४–५ लाख लिटर इन्धन खपत हुने गरेको र आजै मात्र ५ लाख लिटर पम्पहरुलाई दिएको उनको भनाइ छ । तर, पम्पहरुले पनि अभाव सृजना गरेको हुनसक्ने उनको आशंका छ ।

इन्धन मौज्दात हुँदा हुँदै पनि ट्याकंर नहुँदा बजारमा पठाउन नपाएको उनको दाबी छ ।

मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसको संशोधन माग राख्दै आन्दोलित भइरहेका बेला निगम सम्बद्ध ढुवानीकर्ताहरुले पनि पेट्रोलियम पदार्थ बोक्न छाडेका छन् ।

पछिल्लो तीन दिनदेखि ट्याङ्कर चालकहरुले रक्सौल डिपोबाट तेल ढुवानी गरेका छैनन् ।

निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरुले यसअघि पनि तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । आपूर्ति ठप्प पारेपछि निगमले चालकका त्यस्ता मागहरु पूरा गरिदिएको थियो ।

तर, असोज २ गतेदेखि आन्दोलित चालकहरुलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले पुनः ढुवानी ठप्प पारेका छन् ।

निगमका अनुसार आन्दोलित चालकहरुले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

निगमले चालकहरुका मागहरु पूरा गरिसकेको सन्दर्भमा पुनः ठप्प पार्नु गम्भीर भएको भन्दै नियमित काममा फर्कन ढुवानीकर्ता तथा चालकहरूसँग आग्रह गरेको छ ।

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?