८ असोज, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो गरेका छन् ।
संविधान जारी भएपछि बनेको नयाँ सरकारबाट लगानीमैत्री वातावरण बन्ने र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा गरेपनि दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकारले पनि लगानीमैत्री वातावरण नबनाएको गोल्छाले बताए ।
सोमबार बुटवल उद्योग बाणिज्य संघको ६५ औं वाषिर्क साधारणसभामा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रसँगको सहकार्य विना मुलुकको समृद्धि सम्भव नहुने बताए ।
वर्तमान सरकार राजश्वमुखी मात्रै भएको बताउँदै गोल्छाले कर उठाएर मात्रै मुलुकको समृद्धि हुन्छ भन्ने सोच नत्यागेसम्म मुलुक समृद्ध बन्न नसक्ने दाबी गरे ।
बैंकको मुनाफा निश्चित नहुँदा उद्योगी ब्यवसायीहरु मर्कामा परेको भन्दै उनले सबै भन्दा सुरक्षित रहेको बैंकिङ्ग क्षेत्रको मुनाफा निश्चित गरिनुपर्नेमा जोड दिए ।
मुलुकको औद्योगिक नीति उद्योगमुखी र लगानीमैत्री नरहेको भन्दै गोल्छाले औद्योगिक वातावरणमा सुधार ल्याउन नसके विदेश पलायन हुने युवाहरुको संख्या अझै विकराल रुपमा बढ्ने सक्ने चिन्ता व्यक्त गरे ।
महासंघका उपाध्यक्ष किशोरकुमार श्रेष्ठले राजनीतिक दलहरुले उद्योगी ब्यवसायीहरुलाई फुटाएर आफ्नो स्वार्थपूर्ति गर्ने गरेको आरोप लगाए ।
महासंघकै अर्का उपाध्यक्ष चन्द्र ढकालले लामो समयसम्मको राजनीतिक अस्थिरताका कारण उद्योगी ब्यवसायीहरु मर्कामा परेको बताउँदै वर्तमान सरकारले जथाभावी कर लगाउँदा उद्योगी ब्यवसायीहरु थप समस्या परेको गुनासो गरे ।
महासंका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले उद्योगी ब्यवसायीहरु दोहोरो करको मारमा परेको भन्दै आय स्रोत भएकालाई मात्रै करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बुटवल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष अर्जुनमान सैजु,संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, महासचिव दिनेशप्रसाद श्रेष्ठलगायतले बुटवलको मात्र नभइ प्रदेश ५ कै आर्थिक विकास र समृद्धिको लागि बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापना र भैरहवाको विशेष आर्थिक क्षेत्रलाई छिटो संचालनमा ल्याउन माग गरे ।
प्रतिक्रिया 4