Comments Add Comment

सामाजिक सञ्जालको कुलतः लागुऔषध जस्तै भयानक

लत वा कुलत भन्नसाथ हामी, लागुऔषध सम्झन्छौं । लागुऔषधको सेवन गर्नेहरु, जो त्यसबाट छुटकारा पाउँनै नसक्ने अवस्थामा छन्, उनीहरुलाई कुलतमा फसेका भन्छौं । मदिराको लागि मरिहत्ते गरेर लाग्नेहरुलाई मदिराको कुलत लागेको भन्छौं ।

कुलत त्यो हो, जसमा हामी आवश्यक्ता भन्दा बढी लिप्त हुन्छौं । र, यसले हामीलाई कुनै न कुनै रुपमा साइड इफेक्ट पार्न सक्छ । यस्तो लत लागुऔषको मात्र हुँदैन, मदिराको मात्र हुँदैन, चुरोटको मात्र हुँदैन, सामाजिक सञ्जालको पनि हुन्छ ।

सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् ।

च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।

सामाजिक सञ्जालमा धेरैबेर झुण्डिने मानिसहरुमा सामाजिक सञ्जालमा आफ्नो साथीभाइले घुमफिर गरेको, पार्टी गरेको र महंगा कपडा, गरगहना लगाएका तस्वीरहरु देख्दा व्यक्तिगत जीवनबाट असन्तुष्टि पैदा हुन थाल्छ ।

बेलायती लेखिका क्याथरिन आर्मेरोडले यसैलाई मध्यनजर गर्दै हालै लेखेको आफ्नो पुस्तक ‘हृवाइ सोसल मिडिया इज रुनिङ योर लाईफ’मा सामाजिक सञ्जालको लतबाट छुटकारा पाउने उपाय सुझाएकी छिन् ।

बहसको डरले पछाडी नहट्नु

सामाजिक सञ्जालमा आँखामा आँखा जुधाएर मनदेखि नै कुराकानी हुँदैन । च्याटिङमा कहिलेकाँही मानिसहरु पोस्टलाई लाइक गरेर वा त्यसमा राम्रो कमेन्ट दिएर त्यस भावनाको दर्शाउँछन् ।

वास्तविक जीवनमा भेट्दा र कुराकानीको सिलसिला अगाडि बढ्दै जाँदा मतभेद हुने सम्भावना रहन्छ । कैयौं मानिसहरु त बहसको डरले नै धेरै कुराकानी गर्नबाट हिच्किचाउँछन् जुन गलत हो ।

क्याथरिनका अनुसार कुराकानीले सम्बन्धमा मिठास थप्छ । एक अर्काको दृष्टिकोणलाई बुझेर स-साना कुराहरुलाई नजरअन्दाज गर्ने लडाई सजिलै टार्न सकिन्छ । सम्बन्ध दुःख पिडा बाँड्न र तनाव हटाएर केही खुसीयालीपूर्ण पल हासिल गर्ने माध्यम पनि हो ।

‘फोन फ्रि ‘ जोन निर्धारित गर्नुहोस्

बेडरुम र लिभिङ रुमले कामको व्यस्तताबाट बाहिर निस्केर परिवारको साथमा खुसीयालीपूर्ण पल बिताउने मौका दिन्छ । यसैले क्याथरिनि यसलाई फोन फ्रि जोन बनाउने सल्लाह दिन्छिन् ।

डाइनिङ रुममा पनि फोनको प्रयोगबाट बच्नुपर्ने उनको सुझाव छ ताकी परिवारको साथमा खाना खाँदै रमाइलो पलको भरपुर फाइदा उठाउन सकियोस् ।

उनका अनुसार फोनको प्रयोग गर्ने समय पनि निर्धारित गर्नुपर्छ । दिनको दुई घन्टा पार्टनर र बच्चाको साथमा बिताउनुपर्छ ।

अफलाइन साथमा जोड दिनुहोस्

क्याथरिनका अनुसार सम्बन्ध खुसीको चाबी हो । तर, आफ्नासँगको सम्बन्ध अनलाईन दुनियाँ सम्म सिमित हुन हुँदैन । समय समयमा भेट्ने र फोनमा कुरा गर्नाले सम्बन्ध मजबुत बनाउँछ ।

फेसबुक, हृवाट्सएपमा भएका साथीहरुसँग भेटको लागि समय निकाल्नुहोस् । हप्ता, दुई हप्तामा फोनमा कुरा गर्ने नियम बनाउनुहोस् । यदि साथीले तपाइर्ंको कोसिसमा साथ दिएनन् भने उनीहरुसँग दुरी बढाउनुमै फाइदा छ ।

कल्पनामा नजिउनुहोस्

प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने हरेक मानिसको फरक फरक तरिका हुन्छ । तर, तपाईं कल्पनामा बगेर अरुको जीवनमा वा फिल्ममा जस्तै आफ्नो जीवनमा पनि होस् भन्ने चाहनुहुन्छ भने यसले फाइदा गर्दैन ।

यसैले फेसबुक वा हृवाट्सएपका साथीले च्याटमा आफ्नो पार्टनरले महंगा उपहार वा सरप्राइज डिनर डेट दिएको कुरा गरे पनि तपाईंले आफ्नो पार्टनर सँग पनि यस्तो आशा नगर्नुहोस् ।

तुलनाबाट बच्नुहोस्

फेसबुकको दुनियाँमा चलिरहेका हलचल र भाइरल भएका कुराहरुलाई आफ्नो भावनामा कहिल्यै पनि हावी हुन नदिनुहोस् । त्यस्तै सामाजिक सञ्जालमा अरुको खुसी पनि तुलना नगर्नुहोस् ।

समय बित्दै जाँदा आफ्नो आत्मिय मानिसहरुसँगै घुमफिर गर्ने र आफ्नो उनीहरुसँग खुसीयाली मनाउने मौका सबैको जीवनमा आउँछ भन्ने कुरा कहिल्यै नभुल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment