Comments Add Comment

नेपालको पुनर्निर्माणबारे अमेरिकामा छलफल हुने

९ असोज, काठमाडौं । नेपालमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा अमेरिकामा छलफल हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा आउँदो शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा ‘विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना’ विषयक कार्यक्रम आयोजना हुन लागेको हो ।

उक्त कार्यक्रममा प्रस्तुतिका लागि  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली मंगलबार राति त्यसतर्फ जाँदैछन् । उनले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ ।

‘कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु’, उनले भने ।

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं  विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको  प्रस्तुति पनि रहनेछ ।

अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment