Comments Add Comment

४ वर्षपछि कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शशांक

९ असोज, पोखरा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब जुर्मुराउने बताएका छन् ।

‘कांग्रेसलाई यसपालीको चुनाव दुर्दशा सावित भयो तर पछिल्लो समय समर्थकहरु फेरि बढ्नेक्रम जारी छ,’ महामन्त्री कोइरालाले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन अब बढाउँदै लैजाने हो ।’

अबको ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनले उद्घोष गरे । कोइरालाले विधान संशोधनमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए । कांग्रेसमा बढेको आकर्षणलाई थप ऊर्जा थप्ने गरी कार्यकर्ताको सुझाव चाहिएको कोइरालाको भनाइ थियो ।

कांग्रेस ऐतिहासिक समयमा भएकोले कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी आएको कोइरालाले बताए । ‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरतापूर्वक बहन गरेर आउँदो दिनमा कांग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने दायित्व आएको छ,’ कोइरालाले भने । कार्यकर्ताको सुझावलाई महासमितिले छलफल गर्ने उनको भनाइ थियो ।

विधान संशोधनका लागि राय संकलन

कांग्रेसको विधान संशोधनमा राय लिन पोखरामा प्रदेशस्तरीय भेला आयोजना गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठिन विधान संशोधन समितिले मंगलबार पोखरामा भेला गरेर सुझाव लिएको हो ।

विधानमाथि सुझाव दिन जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख भेलामा सहभागी छन् । भेलालाई ५ समूहमा विभाजन गरेर राय तथा सुझाव लिने काम भइरहेको छ ।

बुधबारसम्म चल्ने भेलाले गण्डकी प्रदेशस्तरीय सुझाव लिएर फर्किने छ । बन्द सत्रमा नेता कार्यकर्ताले छलफल गरेर दिएको सुझावलाई केन्द्रीय समितिमा पेश गर्ने समिति संयोजक खड्काले जानकारी दिए । कांग्रेसले सातै प्रदेशका १२ ठाउँमा विधानबारे सुझाव संकलन गर्न लागेको उनले बताए ।

कांग्रेसले तयार पारेको मस्यौदामा ९ सदस्यीय पदाधिकारी, सभापति पदमामात्रै निर्वाचन गर्ने र पदाधिकारी मनोनित गर्ने वा पदाधिकारीहरू पनि निर्वाचन गर्ने जस्ता कुरा मस्यौदामा समावेश गरिएको कार्यक्रम संयोजक फरमुल्लाह मन्सुरले जानकारी दिए ।

साधारण, क्रियाशील, सम्मानित र विशेषगरी ४ प्रकारका सदस्य अब कांग्रेसमा रहने गरी विधान मस्यौदा तयार पारिएको छ । केन्द्रीय समिति संख्या ८५ बाट बढाएर १ सय ३१ पुर्‍याउने व्यवस्थासमेत गर्न लागिएको मन्सुरले जानकारी दिए । सबै प्रदेशबाट सुझाव संकलन गरी मंसिर पहिलो साता काठमाडौंमा बस्ने महासमिति बैठकले नयाँ विधान बनाउने महामन्त्री खड्काले जानकारी दिए ।

मंगलबार र बुधबार गण्डकी प्रदेशको पोखरामा सुझाव संकलन गरेर असोज १२ र १३ गते बागलुङ मस्यौदामाथि छलफल तथा अन्तक्रिर्यामार्फत सुझाव लिएर समिति काठमाडौं फर्किने छ । मस्यौदा समितिले प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरेर केन्ऽीय कार्यसमिति समक्ष पेश गर्ने म्याण्डेट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment