Comments Add Comment

असोज २१ देखि नयाँ नोट, २७ हजारसम्म साट्न पाइने

१० असोज, काठमाडौं । दशैंका लागि नयाँ नोट आगामी २१ गतेदेखि सर्वसाधारणलाई वितरण गरिने भएको छ ।  नेपाल राष्ट्र बैंकले आगामी २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो ।

नयाँ नाेट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

कहाँ-कहाँ पाइन्छ नोट साट्न ?

राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट समेत सर्वसाधारणले सटही सुविधा पाउने बताएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउनेछन् ।

उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।

नोटमा लेखे जेल सजाय !

नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पुर्‍याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment