Comments Add Comment

विराटनगरमा ३ शैक्षिक केन्द्रमा तालाबन्दी, बाहिरैबाट कामकाज

१० मोरङ, असोज । विराटनगरका प्रमुख तीन शैक्षिक केन्द्र पूर्वाञ्चल विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस र महेन्द्र मोरङ क्याम्पसमा केही समययता तालाबन्दी छ ।

पूर्वाञ्चल विश्वविद्यालयको चारवटा कार्यालयमा विद्यार्थी संगठनले दुई महिनायता तालाबन्दी गरेका छन् । उपकुलपतिको कार्यालय र सेवा आयोगको कार्यालयमा अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको तालाबन्दी छ ।

उपकुलपति, रजिष्टार र लेखा शाखा कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नाकोत्तर क्याम्पसमा त्रिवि प्राध्यापक संघको तालाबन्दी छ भने महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

गत साउन २३ गते पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेको अनेरास्ववियू, अखिल क्रान्तिकारीसहित पाच विद्यार्थी संगठनले कर्मचारी बढुवामा धाँधली भएको आरोप लगाएको छ । उनीहरुले सेवा आयोगले आवेदन फाराम भर्दा लिएको शुल्क फिर्ता गर्न पनि माग गरेका छन् ।

पाँच विद्यार्थी संगठनको तालाबन्दीमा नेपाल विद्यार्थी संघले पनि नयाँ ताला थपेको छ । प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको भन्दै गत भदौ ३१ गते नेविसंघले उपकुलपतिको कार्यालय, रजिष्टार, डिन र लेखा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

स्नातकोत्तर क्याम्पसमा प्राध्यापक नियुक्तिको बिषयलाई लिएर गत भदौ २२ गतेदेखि प्राध्यापकहरुले नै तालाबन्दी गरेका हुन् । महेन्द्र मोरङ राष्ट्रिय विद्यार्थी संघले भदौ ३१ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

स्नाकोत्तर क्याम्पसमा बेग्लै क्याम्पसका उपप्राध्यापक प्रमुखका नियुक्त भएपछि प्राध्यापक संघले स्नाकोत्तर क्याम्पसकै प्राध्यापक प्रमुख हुनुपर्ने एक सूत्रीय माग तालाबन्दी गरेको हो ।

स्नातकोत्तर क्याम्पसमा पार्टीगत कोटाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति हुदै आएको थियो । एक दशकयता तत्कालीन माओवादी कोटामा परेको क्याम्पसमा प्रमुख मनोज राउतको चार बर्षे कार्यकाल सकिएपछि माओवादीबाटै सहप्राध्यापक महेश खत्रीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो ।

खत्री महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउँछन् । तर कनिष्ठ र बेग्लै क्याम्पसको भएको बताउदै प्राध्यापकहरु नियुक्ति खारेजको एक सूत्रीय मागसहित आन्दोलनमा छन् ।

महेन्द्र मोरङले सञ्चालन गरेको प्राइभेट शैक्षिक कार्यक्रममा १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने, बीबीए कार्यक्रमका निर्देशक नियुक्ति खारेज गर्नुपर्ने मागलगायत राखेर अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गरेका कारण तीनवटै शैक्षिक संस्थाका प्रमुखले कार्यकक्षमा बस्न पाएका छैनन् । बाहिरैबाट क्याम्पसको काम गर्नुपरेको उनीहरु बताउछन् । गत भदौ २६ गते नियुक्ति पाएका स्नाकोत्तर क्याम्पसका खत्री २७ गतेदेखि क्याम्पस धाइरहेका छन् । तर कार्यकक्षमा तालाबन्दी भएका बाहिरबाट नै कार्यालयको काम गर्दै आएको बताउँछन् ।

स्नाकोत्तर क्याम्पसका प्राध्यापकहरु ज्येष्ठता र वरिष्ठताका आधारमा सहप्राध्यापक कृष्ण वस्तीलाई प्रमुखमा नियुक्ति गर्नुपर्छ भन्ने पक्षमा थिए । तर त्रिविले महेन्द्र मोरङ क्याम्पसका सहप्राध्यापकलाई नियुक्त गरेपछि तालाबन्दी गरेको त्रिवि प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस विराटनगर इकाई सभापति चक्रपाणि खनालले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका प्रवक्ता राजेश झा उपकुलपति, रजिष्टारको कार्यकक्षमा तालाबन्दी भएका कारण दैनिक काम कारवाहीमा पनि असर परेको बताउँछन् । तालाबन्दीका कारण विश्वविद्यालयको नियमित गतिविधिमा पनि प्रभाव पारेको उनको भनाइ छ ।

तालाबन्दी गर्ने विद्यार्थी संगठनहरु भने माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने बताउदै आएका छन् । अखिल क्रान्तिकारी मोरङ संयोजक ताजिम अन्सारी माग पूरा नभए अनिश्चितकालीन रुपमा लागेको तालाबन्दी नखोल्ने बताउँछन् । सहमति पालना गर्न बरम्बार आग्रह गरे पनि अटेर गरेका कारण तालाबन्दी गरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment