Comments Add Comment

मानव बेचबिखनको आरोपमा २ पक्राउ, २ फरार

११ असोज, बैतडी । मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले २ जनालाइ पक्राउ गरेको छ । बैतडी सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीया देवकी ढाँट र डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार ढाँटलाई घरबाटै बुधबार पक्राउ गरिएको हो । बिष्टलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको थियो ।

गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाईफकाई भारतको बैंगलोर पुर्‍याएर बेचबिखन गर्न खोजेको उनीहरुमाथि आरोप छ । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिनअघि मात्रै नेपाल ल्याएका थिए ।

पीडित महिलाले गत सोमबार गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

ढाँट र विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरेर उनीमाथि अनुसन्धान सुरु गरिएको छ । बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइने निरीक्षक सिंहले बताए ।

प्रहरीका अनुसार मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । उनीहरुको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सिंहले भने, ‘पीडित महिलाको जाहेरीको आधारमा हामीले थप दुई जनालाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई आग्रह गरिसकेका छौँ । उनीहरुमाथि समेत मुद्दा दर्ता भइसकेको छ ।’

–सुनिता भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment