Comments Add Comment

तीन दिनमै बसको टिकट सकियो ! दशैंका यात्रु तनावमा

११ असोज, काठमाडौं । पाल्पाका गणेश पाण्डे फुलपातीको दिन घर जाने निधो गरेर टिकट बुकिङ गर्न गोगंबु बसपार्क पुगे । बसपार्क क्षेत्रमा रहेका काउन्टरहरु एकएक चहार्दा पनि उनले एउटै जवाफ पाए, ‘टिकट त सकिसक्यो ।’

चिन्तित मुद्रामा भेटिएका उनले अनलाइनखबरसँग भने, ‘दशैंको १५–२० दिन अगाडि टिकट सकियो भन्छन्, नयाँ गाडी थपेनन् भने त दशैंमा घर जान समस्या पर्ने भो ।’

सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति गरेसँगै यातायात व्यवसायीले ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । तर, तीन दिनमै सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेकाहरुलाई फर्काउन थालिएको छ ।

बल्खु बस्दै आएका शंकर घिमिरे कपिलबस्तुको टिकट बुक गर्न पश्चिम नेपाल बस व्यवसायी संघको काउन्टरमा पुगेका थिए । तर, त्यहाँ भएका कर्मचारीले अनलाइन सिस्टमबाट मात्रै बुकिङ गर्न मिल्ने जवाफ दिएपछि उनी अचम्ममा परे ।

खातापाता हटाएर विद्युतीय माध्यमबाट टिकट बुकिङ थाल्नु राम्रै भए पनि दशैंका बेलामा मात्र अनलाइनबाट बुकिङ गर्ने कुरा उनलाई नियोजित लाग्यो । अनलाइनबाट भनेपछि धेरै यात्रु फर्किने ठानेर व्यवसायीले चलाखी गरेको उनको आशंका छ ।

रुकुम खलंगाका शुकलाल स्याङ्ग्बोको समस्या पनि उस्तै छ । भर्खरी सुत्केरी भएकी श्रीमती, शिशु र बहिनी लिएर दशैंमा घर जानु छ उनलाई । त टिकट पाएका छैनन् ।

‘अस्ति टिकट बुकिङ खुल्यो भन्ने थाहा पाएँ, चाँडो जाँदा पाइन्छ कि भनेर आएको तर, काउन्टरबाला सबै बुकिङ भइसक्यो भन्छन्’, उनले गुनासो गरे ।

यसपाली दशैंको टीका कात्तिक २ गते परेको छ । रोजगारी, पढाइ र अन्य कारणले काठमाडौं बस्दै आएका लाखौं मानिस दशैं मान्न घर फर्कछन् ।

विद्यार्थीहरु घटस्थापनापछि फर्कन थाल्छन् भने कामकाजीले फुलपातिपछि मात्र विदा पाउँछन् । तर, फुलपातिपछि कुनै पनि दिनको टिकट पाउने अवस्था छैन ।

हेल्प डेस्कमा कोही आएनन्, एसी र डिलक्सका नाममा ठगी

यात्रु ठगिन नदिन भन्दै महानगरीय ट्राफिक महाशाखा, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीकाे सहकार्यमा बसपार्कमै हेल्प डेस्क पनि स्थापना गरेको छ । हेल्पडेस्कमा यात्रुले आफ्नो गुनासो राख्न सक्छन् ।

तर, अहिलेसम्म त्यस्तो गुनासो लिएर कोही नआएको त्यहाँ कार्यरत एक ट्राफिक प्रहरीले जानकारी दिए ।

सडकको अवस्था दयनीय रहे पनि देशका कुनाकाप्चासम्म व्यवसायीले बसलाई एसी र डिलक्स भन्न छाडेका छैनन् । सुविधाजनक यात्राका लागि आधुनिक बस उपयुक्त पनि हो तर, यसैको नाममा व्यवसायीले यात्रुलाई ठग्ने गरेको पाइएको छ ।

यातायात व्यवस्था विभागले ७ असोजमा सार्वजनिक गरेको नयाँ भाडादर अनुसार डिलक्स र एसीको मान्यता पाएका गाडीवालाले तोकिएको भाडामा २० प्रतिशत थप गरेर लिन पाउँछन् ।

तर, बसपार्कमा तोकिएको भाडामा ३० देखि ४० प्रतिशतसम्म बढी असुलेको पाइयो । यातायात व्यवस्था विभागले अछामको साँफेबगरको भाडा १ हजार ८ सय ७३ रुपैयाँ तोकेको छ ।

डिलक्स र एसी बसले त्यसमा २० प्रतिशत जोडेर साँफेबगरको भाडा २ हजार २ सय ४७ रुपैयाँसम्म लिन सक्छन् । तर, व्यवसायीले २ हजार ७ सयसम्म असुलेको पाइयो ।

गाडीमा रहेको सुविधा अनुसार भाडा बढाइएको गाडीवाला बताउँछन् । तर, कतिपय गाडी नाम मात्रैका एसी र डिलक्स छन् ।

‘एसी बस भनेर टिकट बुक गर्ने तर, भित्र पस्दा कहिले पावर पुगेन त कहिले बिग्रेको छ भन्छन्’, गुल्मी जान लागेका हरि अधिकारीले भने ।

व्यवसायीले एसी र डिलक्स गाडीमा वाइफाइको नाममा समेत यात्रु लोभ्याउने गरेका छन् । तर, त्यस्ता गाडी गुड्न थालेपछि वाईफाई नै नचल्ने यात्रुको गुनासो छ ।

नयाँ बस थपिएन

यातायात व्यवसायीले प्रत्येक वर्षको दशैं तिहारमा नयाँ गाडी थप्ने गर्छन् । वर्षेनी यात्रुको चाप बढ्ने भएकाले व्यवसायीले दशैंलाई नै लक्षित गरेर नयाँ गाडी थप्ने गरेका हुन् ।

तर, यसपालि विगतको वर्षमा जस्तो नयाँ गाडी थपिएका छैनन् । सरकारले यातायात संघ, समितिहरुलाई मान्यता नदिने भएपछि व्यवसायीले नयाँ गाडी थप्न नचाहेको बताइन्छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भन्छन्, ‘समयअनुसार समिति हटाएर कम्पनीमा जाने एउटा प्रक्रियाको कुरा हो, तर यही कारणले हामीले गाडी नथपेको भन्ने होइन ।’

जेठदेखि यातायात क्षेत्रमा अन्यौल देखिएकाले व्यवसायी अलमलमा परेको उनको दाबी छ । यातायात समिति खारेज गर्ने निर्णयसँगै यातायात व्यवस्थापनदेखि बीमासम्मको ऋण लिने काम बन्द भएकाले नयाँ गाडी थप्न नसकिएको उनले बताए ।

गएको १८ चैतमा यातायात व्यवस्था विभागले नयाँ कार्यविधि जारी गरेको थियो । त्यसपछि ४ वैशाखको मन्त्रीपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कम्पनीको नवीकरण पनि नगर्ने गरी नयाँ कम्पनी दर्ता नगर्ने निर्णय गरेको थियो ।

तर, सरकार आफ्नै निर्णयबाट पछि हट्दै यातायात समितिहरुलाई आउँदो पुससम्म कम्पनीमा जान समय दिएको छ र साथै रोक्का गरिएका उनीहरुका बैंक खाता समेत आंशिक फुकुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment