काठमाडौं । मोफसलको चर्चित फुटबल क्लब झापा एघार ए डिभिजनमा छैन । तर, प्रमुख स्ट्राइकर कर्ण लिम्बु शहिद स्मारक ए डिभिजन लिग खेल्दैछन् ।
कर्ण घरेलु फुटबलका स्टार खेलाडी हुन् । झापा एघारलाई यो स्थानसम्म परिचित गराउन कर्णको योगदान छ । उनकै प्रेरणामा क्लबले घरेलु लिगमा थुप्रै सनसनीपूर्ण नतिजा निकालेको छ ।
तीनै कर्ण ए डिभिजन लिगका लागि हिमालयन शेर्पा क्लबमा आवद्ध भएका छन् । २०७० को लिगमा मछिन्द्रबाट खेलेका उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता थिए ।
फेरि एकपटक आफूलाई प्रमाणित गर्न आतुर छन् उनी । कर्णसँग गरिएको संक्षिप्त कुराकानीः
हिमालयन शेर्पा क्लबमा कसरी गाँसिनुभयो ?
धेरै क्लबबाट अफर आएका थिए । मछिन्द्रले पनि मलाई निकै पछ्याएको हो । हिमालयन शेर्पामा चाहिँ नजिकका भाइहरू भएकाले प्राथमिकतामा पर्यो ।
क्लब छान्दा पैसा मात्र हेर हुँदैन, टिम पनि हेर्नुपर्छ । जुनसुकै टिममा घुलमिल हुन सजिलो हुँदैन । हिमालयन शेर्पा राम्रो क्लब पनि हो । मलाई पहिलेदेखि नै यो क्लबबाट खेल्न मन लागिरहेको थियो तर, पनि कारणबस मिलिरहेको थिएन । यो पटक चाहिँ इच्छासँगै अवसर पनि मिल्यो ।
हिमालयन शेर्पालाई बाहिरबाट हेर्दा र क्याम्पमा जोडिएपछि कतिको फरक पाउनुभयो ?
म आएको धेरै भएको छैन । सबै कुरा राम्र्रो छ । हामीलाई अहिले खडि्कएको मैदान मात्रै हो । अभ्यास गर्न मैदानको अभाव भए पनि हामीले मैत्रीपूर्ण खेल खेलिरहेका छौं ।
सबै जना चिनैकै भाइहरू छन् । । प्रशिक्षक पनि चिनेकै हुनुहुन्छ । त्यसैले यहाँ घुलमिल हुन खासै समय लागेन ।
ए डिभिजन लिगकै लागि मात्र तपाई अनुबन्धित हुनुभएको हो ?
यो सिजनकै लागि भनेर हाम्रो सल्लाह भएको छ । राम्रो सम्बन्ध बढ्दै गयो भने अर्को सिजनमा पनि निरन्तरता हुन सक्छ ।
तपाईं हिमालयनमा आएपछि झापा एघारसँग चाहिँ के हुन्छ ?
झापा एघार भनेको त हाम्रो मुटु भइहाल्यो नि । हाम्रो रैथाने क्लब हो । झापाले यो लिग खेलेको भए म अन्यत्र जाने नै थिइनँ । लिगपछि फेरि झापा ११ मै हुन्छु ।
अन्तिम पटकको ए डिभिजन लिगमा सर्वाधिक गोलकर्ता हुनु भएको थियो, योपटक चाहिँ के लक्ष्य राख्नुभएको छ ?
यो क्लबले मलाई जुन विश्वासका साथ ल्याएको छ, त्यसमा म खरो उत्रिनै पर्छ । यो क्लबलाई अझ माथि पुर्याउन र राम्रो नतिजा दिलाउन मिहिनेत गरिरहेको छु । पहिलेकै स्तरमा प्रदर्शन गर्न मैले परिश्रम त गर्नैपर्ने हुन्छ ।
अघिल्लो लिगमा मैले व्यक्तिगत गोलका लागि खेलेँ भने यसपाली टिमको लागि खेल्नेछु । मैले गोल गरौं या नगरौं तर, टिमले जित्नुपर्छ भन्ने भावनामा छु ।
हामी सुपर सिक्स मात्रै नभएर च्याम्पियन बन्नप्रयत्न गर्छौं । अभ्यास राम्रो पनि भइरहेको छ । च्याम्पियन नै भइन्छ त भन्दिन म तर जुनसुकै टिमलाई कडा टक्कर भने अवश्य दिनेछौं ।
तपाईको आगामी योजना के छ ?
खेल्ने हो अझै दुई-चारवर्ष । त्यसपछि हेरौं के हुन्छ । प्रशिक्षकको भूमिकामा आउने योजनामा पनि छु ।
प्रतिक्रिया 4