Comments Add Comment

भेन्टिलेटर नबन्दा भरतपुर अस्पतालमा बालकको मृत्यु

१२ असोज, चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए ।

भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएर नवजात शिशुलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । जन्मेपछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृतिम श्वासप्रश्वासबाट उपचार गरिन्छ । अस्पतालको एनआईसीयूमा जडित नियो न्याटल भेन्टिेलर बिग्रँदा उपचारमा समस्या आएको छ ।

निमित्त मेसु बसौंलाले शिशु एनआईसीयूमा राख्ने बेला नै भेन्टिलेटर छैन भनेर अभिभावकलाई जानकारी गराएको दावी गरे । उनले उपचारका क्रममा शिशुलाई भेन्टिलेटरको आवश्यकता देखिएको तर सो सुविधा नहुँदा बचाउन नसकिएको बताए ।

भरतपुर अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्काको पनि सेन्सर गएकाले दुवैले काम गरेका छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिनाअघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन ।

नयाँ भेन्टिलेटरमा एयर कम्प्रेसर जडान नगरेकाले प्रयोगमा नआएको निमित्त मेसु डा. बसौलाले बताए । नयाँ जडानका लागि २० लाख जति आवश्यक पर्ने अस्पताल प्रशासनको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक ४० जनाले सुत्केरी सेवा लिँदै आएका छन् । यतिका संख्यामा सुत्केरी गराउने अस्पतालको एनआईसीयू सेवा भने अति नै कमजोर छ । यो उपकरण नहुँदा एनआईसीयूमा उपचाररत नवजात शिशु जोखिममा पर्दै आएका छन् ।

अहिले एनआईसीयूमा रहेका १२ जना नवजात शिशुमध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । गत भदौ २१ गते यसै अस्पतालमा पीआईसीयू सुविधा नहुँदा मंगलपुरका एक बालकको सर्पदंशको कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment