Comments Add Comment

ओली र प्रचण्डले धोका दिएको भन्दै माधव नेपालले बोलाए स्थायी कमिटी

१२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् ।

पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।

नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।

नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।

नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् । आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो ।

नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई आन्तरिक छलफलका लागि बोलाएको केन्द्रीय सदस्य विष्णु रिजालले पुष्टि गरे ।

सचिवालयको निर्णयमा आपत्ति

नेपालले आफू विदेश जानुअघि दुबै अध्यक्षसँग सल्लाह गर्दा प्रदेश कमिटीबारे सचिवालयले प्रस्ताव तयार गर्ने र स्थायी कमिटीबाट प्रदेश कमिटी गठन गर्ने सहमति भएको बताएका छन् ।

सचिवालयबाट निर्णय हुँदा चीनमा रहेका नारायणकाजी श्रेष्ठले विदेश जानुअघि प्रदेश कमिटीका बारेमा निर्णय गर्ने हो भने आफ्नो विदेश भ्रमण रोक्ने जानकारी दुवै अध्यक्षलाई गराएका थिए । तर, श्रेष्ठलाई अहिले निर्णय नहुने अध्यक्षद्वयले बताएका थिए ।

दुवै अध्यक्षबाट धोकापूर्ण ढंगले काम भएको भन्दै नेपालले स्थायी कमिटी सदस्यहरुसँग आफ्नो असहमति राख्न लागेको नेकपाका एक नेताले बताए । स्थायी कमिटीको अधिकार खोसेर विधान विपरीत सचिवालयमार्फत दुई अध्यक्षले आफूखुसी गर्न थालेको आरोप नेपालको छ ।

नेपाल निकट एक नेताले अनलाइनखबरसँग भने- ‘पार्टीको विधानमै एकतासम्बन्धी निर्णय सहमतिका आधारमा गर्ने भनिएको छ । तर, ओली र प्रचण्ड मिलेपछि जे पनि गर्ने तरिकाको बेलैमा प्रतिवाद गरिएन भने पार्टी प्रणाली ध्वस्त हुन्छ । त्यसैले माधव कमरेडले स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो ।’

पार्टीको कार्यवाहक अध्यक्ष को ?

अहिले नेकपाका दुबै अध्यक्ष विदेशमा छन् । प्रधानमन्त्री ओली न्युयोर्कमा छन् भने प्रचण्ड पत्नीको उपचारका लागि सिंगापुर गएका छन् । तर, कसैलाई पनि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मा दिइएको छैन ।

यसअघि दुबै अध्यक्ष विदेश जाँदा वरियताका आधारमा माधव नेपाललाई कार्यवाहक दिइएको थियो । तर, यसपटक दुवै अध्यक्षले सल्लाह गरेरै कार्यवाहक नदिइएको आशंका नेपाल पक्षको छ ।

शुक्रबार स्थायी कमिटी सदस्यहरुसँग यसबारेमा पनि छलफल हुने बताइएको छ । ओलीले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी भने सुवास नेम्वाङलाई दिएर गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment