Comments Add Comment

निजगढ विमानस्थलमा माधव नेपालको असन्तुष्टि

१२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले हतारमा निर्णय गर्दा फुर्सदमा पछुताउनुपर्ने बताए ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले आफ्नै पार्टीको सरकारले अघि बढाएको प्रोजेक्टमा असन्तुष्टि जनाएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थल राजधानीबाट नजिकै हुनुपर्ने उनको तर्क थियो ।

नेपालले भने, ‘पर्यटकको आवागमन बढाउनकै लागिसमेत राजधानी नजिक हुनु पर्नेमा हामीले सोचेनौं ।’

आर्थिक हिसाबले एकै पटक पूर्वाधार विकास गर्न नसकिने भन्दै उनले क्रमशः थोरै थोरै विकास गर्दै जानुपर्ने धारणा राखे । यद्यपि, जग्गा अधिग्रहण भने पहिल्यै गर्नुपर्ने उनको भनाइ थियो ।

विदेश घुमिरहने नेपालले आफू म्यानमार भ्रमणमा जाँदाको प्रसंग सुनाउदै भने, ‘म्यानमारको राजधानीमा १० लेनका लागि सडक अधिग्रहण गरिएको रहेछ । तर, शुरुमा २ लेन अनि क्रमशः थप्दै जाने योजना रहेछ । हामीले पनि एकैचोटी ठूलो पूर्वाधार विकास गर्न सक्दैनौं । तर जग्गाको मूल्य भने सयौं गुणा बढ्न सक्ने हुँदा पहिले नै अधिग्रहण गर्नुपर्छ ।’

नेता नेपालले विमानस्थल आवश्यक भए पनि वन मासेर शहर बनाउन भने नहुने धारणा राखे ।

नेकपा सांसद भीम रावलले पनि दीर्घकालीन हिसाबले सोचेर मात्र विमानस्थल निर्माण गर्नु पर्ने बताए । विमानस्थल बनाउने कि नबनाउने भन्ने कुरा बहसको विषय नभएको उनको भनाइ थियो ।

‘सय वर्षलाई सोचर विमानस्थल बनाउनु पर्छ यसमा ढिलाइ नहोस् तर पारदर्शी भने हुनुपर्छ’ सांसद रावलले भने, ‘विमानस्थल बनाउने भन्दैमा जे पनि ठीक छ भन्न चाहिँ सकिन्न ।’

अतिरञ्जित प्रचार भयो : मन्त्री अधिकारी

कार्यक्रममा सस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले निजगढ विमानस्थल निर्माण हुन नदिन अतिरञ्जित कुराहरु बाहिर ल्याइएको बताए । उनले २४ लाख रुख काट्न लागिएको भनेर भ्रम फैलाइएको उनको भनाई थियो ।

‘विमानस्थल बन्न नदिन अतिरञ्जित तरिकाले ८ हजार हेक्टर जंगलको २४ लाख रुख काट्न लागियो भनिएको छ, त्यो गलत हो’ मन्त्री अधिकारीले भने, ‘न त ८ हजार हेक्टर जंगल मास्न लागेका हौं न त यति लाख रुख भन्ने नै छ, हामीलाई चाहिने जम्मा २५ सय हेक्टर जमिन हो ।’

दीर्घकालीन सोचका साथ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको भन्दै उनले अनावश्यक विवाद झिक्न नहुनेमा जोड दिए । रन वे बनाउन कम खर्च लाग्ने र सजिलोसमेत भएका कारण निजगढ निर्विकल्प बनेको उनको भनाइ थियो । विमानस्थल १ हजार हेक्टर क्षेत्रफलमा नै बन्ने भए पनि अन्तर्राष्ट्रिय स्तरको बनाउन धेरै जग्गा चाहिएको पनि मन्त्री अधिकारीले बताए ।

उनले भने, ‘साना विमानस्थल बनाउने हो भने त पोखरा र भैरहवा नै उत्कृष्ट थिए, १८ घण्टासम्म यात्रा गर्ने क्षमताका जहाज समेत ल्याण्ड गर्न सकियोस भनेर निजगढमा बनाउन लागेका हौं ।’

पारदर्शी तरिकाले सरकारले काम गरिरहेको मन्त्री अधिकारीले स्पष्ट पारे । ईआए रिपोर्ट आफ्नो मन्त्रालयले नबनाएको उल्लेख गर्दै उनले पुनरावलोकन गर्ने/नगर्ने विषयमा वन मन्त्रालयले निर्णय गर्न सक्ने बताए ।

ईआईए नै पुनरावलोकन !

नेपाली कांग्रेसका सांसद नारायण खड्काले ईआइए रिपोर्ट नै रिभ्यू गर्नुपर्ने माग राखेका छन् । वन फडानीको मात्रै धेरै कुरा उठेका कारण रुख रोप्ने कार्य तत्कालै शुरु गर्नु पर्नेसमेत उनले बताए ।

विमानस्थल बनाउनै पर्छ भन्ने आफ्नो मत रहेको भन्दै सांसद खड्काले दीर्घकालिन सोचका साथ अघि बढ्न सरकारलाई सुझाव दिए । ‘अहिले वैदेशिक रोजगारका कारण अन्तर्राष्ट्रिय विमानहरुको चाप छ, भोली केही गरी वैदेशिक रोजगारी धेरै कम वा बन्द भए एउटा पनि जहाज नआउने अवस्था हुन्छ,’ उनले भने, ‘यसकारण धेरै लामो समयका लागि सोचेर निर्णय लिनुपर्ने हुन्छ ।’

‘पर्यटन मन्त्रालयको पत्रले तहल्का’

वैठकमा कांग्रेस सांसद पुष्पा भुसालले पर्यटन मन्त्रालयको पत्रले तहल्का मच्चाएको बताइन् । विमानस्थल बनाउनु पर्ने कुरामा विमति नरहे पनि पर्यटन मन्त्रालयले बन फडानी गर्न स्वीकृति मागेर पत्र लेखेपछि विवाद उत्पन्न भएको उनको भनाइ थियो ।

‘विमानस्थल बनाउन बन फडानी नै गर्नु पर्छ त ?’ उनले प्रश्न गरिन् ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले अध्ययन प्रतिवेदन उपलब्ध गराउन माग गरे । आफू विकासकै पक्षमा रहेको भन्दै उनले विकास नाममा जनतालाई ऋण थुपार्न भने नहुने धारणा राखे ।

‘विकास गरेर नै यहाँ आएको हुँ, बन्दुक बोकेर होइन,’ उनले भने, ‘तर विकासको नाममा जनतालाई थेग्न नसक्ने गरी ऋण बोकाउन पाइदैन ।’

सांसद गगनकुमार थापाले गत बुधबार निजगढ विमानस्थलबारे छलफल गरी आवश्यक निर्णय लिन र निर्देशन दिन आग्रह गर्दै लिखित निवेदन दिएका थिए । सोही अनुसार शुक्रबार समितिमा निजगढबारे छलफल भएको हो । सांसद थापाले प्रतिनिधिसभा बैठकमा समेत निजगढका विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment