Comments Add Comment

काठमाडौंका दुई वटा खाद्य स्टाेरमा शीलबन्दी, गुणस्तहीन र ठगीको आरोप

१२ असोज, काठमाडौं । रहरको दालमा कालोबजारी गर्न लागेको अाशंकामा काठमाडौंको कुलेश्वरको एक स्टोरमा शील गरिएको छ । विवरण नखुलेको रहरको दाल सिबी ब्राण्डको बोरामा धमाधम प्याकिङ गरिरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले शील गरेकाे हो ।

दाल कहाँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी दिए । दालको विलबिजक नभेटिएको र गुणस्तरमा समेत शंका लागेपछि शील गरिएको उनले बताए । कुलेश्वरको किराना संघभित्र रहेको मोहिक स्टोरमा अन्दाजी ६०-६५ वटा बोरामा दाल प्याकिङ गरिसकेको अवस्थामा टोली फेला पारेको थियो ।

थप अनुसन्धानका लागि स्टोर सञ्चालकलाई आइतबार जिल्ला प्रशासन कार्यालय बोलाइएको छ । व्यापारीले चाडपर्वका बेला सडे गलेका वस्तु बजार पठाउने भएकाले अनुगमन थालिएको प्रजिअ आचार्यले बताए ।
जिल्ला प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा आ-आफ्नै तरिकाले बजार अनुगमन गरिरहेको उनले बताए ।

ज्ञानेश्वर खाद्य स्टोरमा पनि शील

चिनी र मैदामा ठगी गरेको भन्दै काठमाडौंको ज्ञानेश्वरमा रहेको एक थोक पसलमा शीलबन्दी गरिएको छ ।  अनुगमनका क्रममा चिनी र मैदामा ठगी गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ज्ञानेश्वरको ज्ञानेश्वर खाद्य स्टोरमा शील गरेको हो ।

चिनीमा अत्याधिक नाफा राखेर बेचेको पाइएपछि शुक्रबार दिउँसो शील गरेको विभागका अनुगमन शाखाका संयोजक एवं सहायक सूचना अधिकृत खगेन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार ६८ रुपैयाँमा खरिद गरेको ल्याएको चिनी स्टोर सञ्चालकले खुद्रा विक्रेतालाई ७५ देखि ८० रुपैयाँसम्म बेचेको भेटिएको हो ।

मूल्यमा ठगीका साथै चिनी मिसावट समेत भेटिएको उनको भनाइ छ । टोलीले स्टोर शील गरेर ४४ किलो बरामद समेत गरेको छ । मैदामा पनि ठगी गरेको भेटिएपछि थप जाँचका लागि स्टोर सञ्चालकलाई आइतबार विभागमा बोलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment