+
+
WC Series
पोखरा एभेन्जर्स 2025
141/6 (17.6)
VS
१२ बलमा २५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

स्थानीयको अवरोधपछि मिस्त्रीखोला जलविद्युतको निर्माण कार्य बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते ८:५५

१४ असोज, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् ।

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए ।

नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताए ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताए ।

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, दुई हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?