Comments Add Comment

साँगामा डोजर चलाएपछि स्थानीयले भने – दशैं त मान्न देऊ

१५ असोज, काभ्रे । मुआब्जा लिएर पनि सडकछेउको जग्गा नछोडेका काभ्रेको साँगाका स्थानीयका घर सोमबार डोजर लगाएर भत्काइएको छ ।

सडक क्षेत्रको घर टहरा हटाउने क्रममा केहीमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

५० वर्षअघि नै मुआब्जा लिइसके पनि साँगा बजारमा सडक छेउका घर हटाइएको थिएन । सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ सालमा निर्माण भएको अरनिको राजमार्ग फराकिलो बनाउन सहज भएको छ ।

घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्ग अवरोध गरेर विरोध जनाएका थिए । राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र दुई सेल अश्रुग्यास हानेको थियो ।

स्थानीयले भने : दशैं त मान्न देऊ

यता स्थानीय वासिन्दाले भने हिन्दू नेपालीको ठूलो चाड दशैंको मुखमा खान न पिउनु बनाएको गुनासो गरेका छन् । दशैंपछि आफूहरु स्वेच्छाले छाड्ने तयारी गरे पनि प्रहरी नै लगाएर यति दपेट्नु गलत भएको उनीहरुको दुखेसो छ । साँगाको मुख्य चोकमा मासुपसल सञ्चालक गरेका शिव खड्गीले भने, ‘दशैंमा बालबच्चा छन्, हामी कहाँ जानु के खुवाउनु ?’

अरनिको राजमार्ग छेउका सडकका घर र जग्गाधनीले सोही समयमा मुआब्जा पाएको भए पनि हालसम्म राजमार्ग छेउछाउ घरटहराले भरिभराउ थिए । पूर्वी नेपाल जाने मुख्य नाकाको रुपमा रहेको साँगामा सडक साँघुरो हुँदा यातायात आवातावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको थियो ।

पछिल्लो पटक बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय र प्रहरी प्रशासनको सक्रियतामा सडक क्षेत्रको अवैध टहरा हटाउने काम तीब्र रुपमा भइरहेको छ । स्थानीयको अवरोधका कारण भक्तपुर र काभ्रेको सिमाना साँगामा सडक फराकिलो पार्न अवरोध भए पनि अहिले हटाउन सफल भएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment