+
+
Shares

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

सफल खतिवडा सफल खतिवडा
२०८३ वैशाख १५ गते ११:२१

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ ।

सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए । ‘कहाँसम्म संरचना हटाउने ?’ भन्ने जिज्ञासा लामो समयदेखि उठ्दै आएको थियो ।

अब भने आधिकारिक नक्साका आधारमा केन्द्रविन्दु तय गरिने भएकाले सडकको दायाँ-बायाँ बराबर दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ । यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ ।

नापजाँच कार्यका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने नक्सा तथा मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गरिरहेको छ ।

सडक  डिभिजन कार्यालयका इन्जिनियर भोला प्रसाद साहका अनुसार आज बिहानदेखि नै नापजाँच औपचारिक रूपमा सुरु गरिएको हो ।

यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सम्पूर्ण चरणमा समन्वय गर्नेछ ।

यसअघि वैशाख ६ गते गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घर–टहरा हटाउन डोजर प्रयोग गरिएको थियो । अहिले केन्द्रविन्दु निर्धारणसँगै सडक विस्तार कार्यले थप गति लिएको छ ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?