Comments Add Comment

पौडेल–सिटौला समूहको निश्कर्षः अहिले भावी नेतृत्वको बहस नगर्ने

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह पार्टीको आगामी नेतृत्वबारे अहिले बहस नगर्ने निचोडमा पुगेका छन् । साथै सभापतिलाई अत्यधिक शक्तिशाली बनाउने प्रस्तावमा पनि उनीहको साझा असहमति छ ।

पार्टीमा विधान संशोधनको बहस चलिरहेको बेला सभापति देउवा इतरको समुहले संगठित धारणा बनाएको हो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले तयार पारेको मस्यौदामा सुझाव संकलन सकेर भोलिबाट छलफल सुरु हुँदैछ ।

बिधान संशोधनका क्रममा सभापति शेरबहादुर देउवाले पेल्नसक्ने आंकलन पौडेल र सिटौला समूहले गरेका छन् ।

विधानबारे छलफल गर्न मंगलबार जम्मा भएका देउवाइतर समूहका नेताहरुको बैठकमा पौडेलले नै अहिले नेतृत्वबारे बहस नगर्ने प्रस्ताव राखेका थिए । ‘पौडेलको प्रस्तावमा महामन्त्रीले मुन्टो हल्लाउनुभयो,’ एक नेताले भने, ‘कृष्ण सिटौलाले पहिलेदेखि नै नेतृत्वबारे अहिले कुरा नगर्ने पक्षमा हुनुहुन्छ भने प्रकाशमान सिंह र अर्जुननरसिंह केसीको पनि यही धारणा छ ।’

महामन्त्री शशांक कोइरालाले भावी सभापतिमा दावेदारी पेश गर्दै आएका छन् । त्यसैले यो निर्णयबाट उनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

नेता सिटौला भने बैठकमा उपस्थित थिएनन् । उनको समूहबाट नेता गगन थापा र विधान मस्यौदा समितिमा रहेका प्रदीप पौडेलले प्रतिनिधित्व गरेका थिए ।
स्रोतका अनुसार बैठकमा पौडेलले विधान संशोधनका क्रममा सभापतिले पेल्ने भन्दै आफूहरु मिलेर गए मात्र दवाव थेग्न सकिने बताए । त्यसैले देउवा इतरको समूहमा नेतृत्वबारे अहिले बहस तथा छलफल नै नगर्ने उनको भनाइ थियो ।

देउवा इतरको समूहमा नेतृत्वबारे अहिलेे बहस नहुने सहमति भएको स्वीकार गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने व्यवहार नगरेपछि अरु संगठित हुनु स्वभाविक हो ।’

पौडेल समूहमा रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह पार्टी सभापतिका दावेदार हुन् । यस्तै शेखर कोइराला, डा. रामशरण महत लगायतले पनि नेतृत्वमा दावी पेश गर्ने तयारी गरेका छन् ।

शक्तिशाली सभापति अस्वीकार्य

मंगलबारको बैठकले पार्टी विधान संशोधनको प्रस्तावबारे समेत साझा धारणा बनाएको छ । पार्टी सभापतिलाई अत्यधिक शक्तिशाली बनाउने प्रस्ताव स्वीकार्य नहुनेमा नेताहरु एकमत देखिए ।

विधान संशोधनको प्रस्तावमा सभापति मात्र निर्वाचनबाट चुन्ने तथा सबै मनोनयनको अधिकार सभापतिलाई दिने उल्लेख छ । देउवा इतर समूहले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने बैकल्पिक प्रस्ताव राखेको छ ।

‘अहिलेको विधानबाट पछाडि र्फकन नमिल्ने ठहरसहित सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव अस्वीकार गर्ने सहमति भएको छ’ बैठकमा सहभागी एक नेताले भने ।

यसैगरी प्रदेश र केन्द्रका लागि छुट्टाछुट्टै प्रतिनिधि चयन गर्ने प्रस्ताव पनि नमान्ने पौडेल र सिटौला समूहको निर्णय छ । संशोधन मस्यौदामा वडा तहबाटै प्रदेश र केन्द्रका लागि फरक-फरक प्रतिनिधि चयन गर्ने प्रस्ताव राखिएको छ ।

बल्ल सुरु हुँदैछ बहस

विधान मस्यौदा समितिले विभिन्न विकल्पहरु राखेकाले सुझाव संकलनका क्रममा कुनै विवाद भएन ।

तर,समितिमा हुने छलफलमा ठूलै रस्साकस्सी हुने प्रष्ट छ । देउवा समूह पार्टी सभापतिलाई बलियो बनाउने पक्षमा छ भने अरु त्यसको विपक्षमा छन् । यद्यपि प्रष्ट बहुमत भएकाले समितिमा देउवाले चाहे अनुसार निर्णय गराउन सक्छन् ।

तर, समितिमा सहमति नभए केन्द्रीय कमिटीमा पनि सहमति हुन सक्दैन र यो विधान महासमितिमा पुग्नेछ । विधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ, जुन देउवा समूहसँग छैन । त्यसैले देउवाले विधान संशोधन सहज छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment