Comments Add Comment

नेकपामा वर्चस्वको लडाइँ

२० असोज, काठमाडौं । काठमाडौंमा आज शनिबार प्रकाशित पत्रिकाहरुमा प्रायः एउटै समाचार प्राथमिकताका साथ छापिएको छ, त्यो हो पप्पु कन्स्ट्रक्सनका प्रमुख र सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा ।

मुद्दा परेपछि सांसद रौनियार स्वतः निलम्बनमा परेका छन् । मुद्दा दायर भएकाहरुमा पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार, कार्मा तेन्जिङ तामाङ, मनोज श्रेष्ठ, हरिबहादुर खड्का, नवराज केसी, राजेशकुमार यादव, प्रेमप्रसाद चुवाई, भानु जोशी, गोविन्द गैरे, दीपेन्द्रबहादुर विष्ट, कृष्णदेव यादव छन् । उनीहरुविरुद्ध ९० करोड बिगो माग गरिएको छ ।

यसका साथै बलात्कारविरुद्धका अभियन्ताले नोबेल शान्ति पुरस्कार पाएको समाचारलाई पनि सबैजसो पत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएका छन् ।

नेकपामा वर्चस्वको लडाइँ

कान्तिपुर दैनिकले नेकपाभित्र चर्किएको अन्तरविरोधको समाचारलाई पृष्ठ ३ मा छापेको छ । ‘नेकपामा वर्चस्वको लडाइँ’ शीर्षकको समाचारमा लेखिएको छ- अहिले शीर्ष नेताहरुबीच देखिएको विवादको खास कारण पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ नै हो ।

कान्तिपुर दैनिक अगाडि लेख्छ- एकता गर्दा नै भावी अध्यक्ष आफ्नो भन्ने पुष्पकमल दाहालको दाबी छँदै छ । एमाले ठूलो पार्टी भएकाले त्यो धारकै नेतृत्व हुनुपर्छ भन्नेमा माधव नेपाल छन् । ईश्वर पोखरेल एमालेमा दुई पटक महासचिव भएको व्यक्ति अब नेतृत्व गर्ने भन्ने आकांक्षामा छन् । यी सबै आकांक्षाबीच ओली आफैले पनि भावी नेतृत्व आफ्नो होइन भनेर कतै भनेका छैनन् । बामदेव गौतमले पनि ७० वर्षको उमेर हद लागू नहुने भन्दै छन् । पूर्वअध्यक्ष झलनाथ खनाल ‘पहिले बिरामी थिएँ र विश्राम लिएँ, अब तन्दरुस्त छु, आफ्नो गुट बनाउँछु’ भन्दै हिँडेका छन् ।

त्यसैले भावी महाधिवेशनमा कसको नेतृत्व स्थापित हुने भन्ने कुरा अहिले प्रदेश र जिल्ला कमिटीको एकता सम्बख्न्धी निर्णयको धेरै प्रभाव रहन्छ । त्यसैले आफू अनुकूलको जिल्ला र प्रदेश नेतृत्वमा बढीभन्दा बढी व्यक्ति ल्याउन सके महाधिवेशनमा प्रभाव पर्न सक्छ, जसलाई आधार बनाएर महाधिवेशनको नेतृत्व हत्याउन पाइन्छ भन्ने नेताहरुको सूक्ष्म गृहकार्य छ ।

सीमाविहीन सम्बन्ध

सीमा क्षेत्रका नेपालीहरुले भारतीय पक्षबाट सधैं थिचोमिचो सहनु परेको समाचार त हामीले सुन्दै आएका छौं तर दुई देशबीचको सीमाविहीन सौहार्दपूर्ण सम्बन्धको बारेमा भने कमै सुनेका र पढेका छौं ।

नागरिक दैनिकले यस्तै सकारात्मक समाचार छापेको छ । समाचार हो सिरहाको लगडीगोठ भन्ने स्थानको । ‘कसिलो बन्दै सीमा सम्बन्ध, बास भारतमा जग्गा नेपालमा’ शीर्षकको समाचारमा लेखिएको छ- दसगजापारि जोगियामा यादव समुदायको बाक्लो बसोबास छ । राम, पासवान, मण्डल, साफी समुदाय पनि मिलेर बसेको बस्ती हो जोगिया । वारि लगडीगोठतर्फ मण्डल समुदायको सघन बास छ । पारि आवश्यक पर्दा वारिबाट सहयोगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट ।

लगडीगोठका अध्यक्ष सुरेन्द्र मण्डलले आफूहरुबीच दुई देशका नागरिक हौं भन्ने ख्याल नै नआउने बताएका छन् । ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सिन्छौं,’ उनले भनेका छन् ।

नारायणगढ-काठमाडौं सडकमा ठूला गाडी नचल्ने

राजधानी दैनिकले आर्थिक पृष्ठमा दशैंमा यात्रा सहज बनाउनका लागि नारायणगढ-काठमाडौं सडकमा ठूला गाडी नचलाउने तयारी गरिएको समाचार छापेको छ ।

आगामी २४ असोज घटस्थापनाको दिनदेखि ३१ असोजसम्म नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला सवारी साधन नचलाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

ठूला सवारीले बाटो जाम बनाउने भएकाले दशैंका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै ठूला सवारीलाई रोक लगाइएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment